त्रिदेशीय कप फुटबल खेलको उपाधी नेपाललाई
१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपाल विजयी बनेको हो ।
नेपालका लागि पहिलो हाफमै सन्जोग राई र विशाल राईले गोल गरेका हुन् । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त ग¥यो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेल खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरे । उनी आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल भएका हुन् । यस्तै खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे ।
पहिलो हाफमा नेपाली खेलाडीहरूले गोल गर्ने उत्कृष्ट प्रयास गरेका थिए । खेलको १३औँ मिनेटमा नेपाल गोल गर्नबाट चुक्यो । खेलको १६औँ मिनेटमा बङ्गलादेशी खेलाडीले रोहित चन्दलाई मैदानमा लडाएपछि नेपालले फ्रि किकको मौका पाएको थियो । अनन्त तामाङले हानेको बल गोलपोष्ट बाहिर पुग्यो ।
यस्तै खेलको २५औँ मिनेटमा नेपालले फ्रि किकको अवसर पाएको थियो । खेलको २८औँ मिनेटमा बङ्गलादेशले गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बुले सफल पार्न सकेनन् । खेलको ३०औँ मिनेटमा अन्जन विष्टले गोल गर्ने उत्कृष्ट मौका गुमाए । यस्तै ३१औँ मिनेटमा विशाल राई गोल गर्नबाट चुके ।
नेपालले मध्यान्तरअघिको खेलजस्तो आक्रामक खेल मध्यान्तरपछि खेल्न सकेन । फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो । बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल गरेका थिए । नेपालले खेलको अन्तिमतिर गोल गर्ने प्रयास गरेको थियो । तर, तेस्रो गोल गर्न भने नेपाल असफल रह्यो । अन्ततः बङ्गलादेशविरुद्धको खेलमा २–१ गेलअन्तरले नेपाल विजयी भयो ।
पूर्वकप्तान विराज महर्जनको बिदाइ
नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । उनले आजको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरिसकेका थिए । पूर्वकप्तान महर्जनलाई दशरथ रङ्गशालामा आज भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उनी ८९औँ मिनेटमा मैदानमा प्रवेश गर्नुभएको थिए । उनी नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुन् । महर्जनले ७३ खेल खेलेका छन् ।
खेलको अवलोकन गर्न प्रधानमन्त्री ओली रङ्गशालामा
नेपाल र बङ्गलादेश बीचको फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुगेका थिए । खेल शुरु हुनु अगावै रङ्गशाला प्रवेश गरेका प्रधानमन्त्री ओलिको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललगायत रङ्गशाला पुगेका थिए । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिथिए । उनले खेल अवधिभर रङ्गशालमा रहेर खेलाडीको हौसला बढाउनुका साथै विजेता तथा उपविजेता खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारीलगायतलाई ट्रफी प्रदान गर्दै सम्मान गरेका थिए । प्रतियोगितामा नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गराएको थियो ।