सोमबारदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय
१६ चैत, काठमाडौं । कोरोना सङ्क्रमणपछि भर्खरै खुल्न थालेका देशभरका शिक्षण संस्था फेरी चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयल विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
जल तथा मौसमविद्का अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको विभागले बताएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई केन्द्रमा राखेर सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताए । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।