काठमाडौंवासीको धारामा मेलम्चीको पानी, यी ठाउँका धारामा २४ घण्टै
१५ चैत, काठमाडाैं । लामो प्रतीक्षारत मेलम्चीको पानी आजदेखि काठमाडौंवासीले उपभोग गर्न पाउने भएका छन् ।
आजदेखि वितरण हुने पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)को पुरानै प्रणालीबाट वितरण गर्न लागेको हो । अनामनगर क्षेत्रका नयाँ लाइन जोडिएका १६ सय धारामा पाइलट प्रोजेक्टका रुपमा चौबिसैघण्टा पानी उपलब्ध गराइने भएको छ ।
तीबाहेक अन्यत्र भने चौबिसैघण्टा पानी वितरण गर्न नसकिने आयोजनाले जनाएको छ ।
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।
बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले बताए ।