वनफेदी स्केचेज : भाग–१ (आख्यान)
सुलुत्त परेको कालो सर्पझैँ लमतन्न । शीतले भिझेर ओसिलो भए पनि टलक्क टल्कने । आलो अलकत्राको लेदोले लपक्क लिपिएको । अनि सर्पकै जीऊ झैँ बटारिएर घुम्तीहरु मोडिएको पहाडी सडक । उही सडकको ढाडमा गाढा डाम बसाउँदै दौडिरहेको मेरो बाइकको गति एक्कासी घट्न थाल्छ र केहिछिनमै टक्क अडिन्छ । अलिक तल टाउकालाई फेस कभर ओताएको एउटा पुलिस सिटी फुक्दै रोक्ने संकेत गरेको देख्छु । अनि त हत्तपत्त गोजिबाट मास्क निकालेर हेलमेटको सिसाभित्र हाल्छु र उक्त पुलिसको नजर पर्नु अघि नै नाकमा ओडाउँछु ।
बाटामा त्यत्रो व्यवधान देखिइसक्यो । तर मन के साह्रो हतारोमा यति ? पर्खिन सक्ने अवस्था मेरो छैन । म अटेर गर्दै बाइकलाई फेरि स्टार्ट गरेर केही मिटर गुडाउन खोज्छु । फेस कभरवाला पुलिसले सिटी फुक्दै माथि फिर्ने संकेत गर्छ । म गह्रौ मन लिएर बाइकलाई घुराउँछु । एक नम्बर गियरमा झरेको बाइक पनि मन झैँ गह्रौ बन्दै उकालो चढ्न थाल्छ । म अनेक तरहका अड्कलबाजीहरूको अत्यासमा अत्तालिन थाल्छु ।
किन रोकेको होला वनफेदी गाउँ जाने बाटो आज ? सिल गरिएको नै हो र ? जंगलले घेरिएको यो सानो गाउँभित्र कसको जीऊमा जोडिएर आयो होला त्यो जीवाणु ? सोचाइका तरङ्गहरूमा सुईँकिएर दश मिनेट उकालो गुडेपछि मात्र बस्न मिल्ने सानो चोक आइपुग्छ ।
टिनको सानो झ्याललाई आधा मात्र खुलाएर ग्राहक पर्खिरहेको पसलबाट चुरोट किन्छु । झ्यालमा बाँधेर झुन्ड्याइएको लाइटरले बालेर सल्काउँदै दाइनेतिरको सानो फलैँचामा बसेर तलको खोँचबाट उठ्दै गरेको कुइरो हेर्छु । मनभित्र पनि कुइरोझैँ भावनाका वाफहरु उठेर छपक्कै छोपिरहेको छ । त्यसमाथि चुरोटको धुवाँले तनलाई समेत कताकता रुमल्याइरहेको अनुभूति भइरहेछ ।
मनले अधीरताको सिमा नाग्न लागेपछि झोलाबाट कागजपत्र निकाल्छु । हत्तपत्त आँखाहरु नचाएर फोन नम्बर पत्ता लगाउँछु र मोबाइलमा डायल गर्छु । एक मिनेटसम्म कोभिडवाला सन्देश सुनुन्जेलसम्म फोन उठ्दैन । दुई पल्ट थप डायल गर्दा पनि उठ्दैन । साटो अझ तर्साउने ज्वालामुखिको मुस्लो पो उठ्छ मनमा ।
केही बेरमा तलबाट उठेर आएको कुइरो र फोक्सोबाट फर्केको धुवाँको मिश्रण हुन्छ । त्यही मधुरो मिश्रणमा मनको ज्वालामुखि फुटेर निस्किएको खरानीको रंगले कोर्न थाल्छ नानाथरीका चित्रहरु । यो वनफेदीको स्केचसँग मेरो स्केच जोडिनु अघिका सारा केरमेर चित्रहरु । एकपछि अर्को गर्दै ।
चित्र नं. १
लकडाउनको सयौँ दिनसम्म शहरको एक गल्लीभित्रको सानो गुफामा गुम्सिएर गुमनाम थिएँ म । अर्को मनुवासँग नबोली कतिदिन सकिएला भन्ने स्वपरिक्षणकालबाट गुज्रिँदै सय दिन त कटाएछु । बिमा एजेन्टको जागिर छुटिसकेको थियो । अलिक पर्तिरको किराना पसललाई म्यासेन्जरमा सामानको लिस्ट पठाइसक्दा ढोकैमा आइपुग्थ्यो । म इसेवाबाट पैसा तिर्दिन्थेँ । चुपचाप पकाउँथे । चुपैचाप खान्थेँ । घरबेटीको छोरालाई ब्यालेन्स पठाएर पाएको चोरीको पासवर्ड हालेर नेट चलाउँथेँ । टोरेन्टको चोरबजारबाट चलचित्रहरु पनि चोर्थेँ । रातभरी हेर्थेँ र दिनभरी सुत्थेँ । ठ्याक्कै उल्लुको जस्तो आनन्दमयी जिन्दगी जिइरहेको थिएँ । घरमा सब ठिक छ भनेर दिनको एउटा म्यासेज ठेलिदिन्थेँ । यो चित्र साँच्चै सबै ठिक बन्दै थियो । एकदम ठिक ।
तर के गर्नु ? असली चित्रकार त समय रहेछ । ऊ मेरो बशमा थिएन । चित्र कोर्न सुरु गर्ने पनि समय नै हो । कोर्दाकोर्र्दैको चित्र रोकेर अर्को चित्र कोर्ने पनि समय नै हो । कालान्तरमा कुन चित्र राम्रो बन्ला ? छुट्याउने पनि त समय नै हो ।
चित्र नं. २
हजार दिन खाएको जागिरको बचतले जागिर नखाँदाका सय दिनसम्म मात्र बचाउँन सक्दो रहेछ । बन्द व्यपारीहरूको पनि त हालत उही होला । हजार दिन गरेको व्यपारको वचतले व्यपार नगर्दाका सय दिन मात्र बचाउने । त्यसैले होला, अस्तिसम्मका सुनसान गल्लीहरु अब विस्तारै पहिले झैँ हल्लाले गुन्जायमान बन्दै थिए । मान्छेहरू रोगले भन्दा भोकले मर्ने पिरको झिरमा उनिएर बत्तिन थाल्दै थिए ।
बैंकको खाताले चार अंकमा उपस्थिति जनाउन थालेपछि मैले शहर छाड्ने निर्णय गरेँ । सय दिनदेखि बुई चढेन भनेर बम्किएको बाइकलाई भरी तेल हालेर फकाएँ । मान्छेहरु अब लकडाउन लुजडाउन भयो भन्दै थिए । मैले भने आफ्नै गाउँलाई चुजडाउन गरेँ ।
चित्र नं. ३
गाउँ । नाम नै पर्याप्त छ । त्यसमाथि अझ मेरो गाउँ ।
पहाडको पाउ । तराईको निधार । समथल, हरियाली र शीतल जमिनमा बसेको मेरो गाउँ । म नआएको तीन बर्षमा निकै फेरिएछ । चिल्लिएका सडक । टनेल खेतीले सेताम्मे देखिने खेतबारी । आँगन–आँगनमा रोकिँदै, तरकारी लोड गर्दै हतारोमा दौडिने मिनिट्रकहरू । चोक–चोकमा दुध सङ्कलन गर्ने सहकारी डेरीहरू । बैंकका नयाँ शाखाहरू । सडकमै टसाएर बनाइएका सटरवाला घरहरू ।
घरको त आभास नै काफी छ । जस्तो होस्, संसारको सबैभन्दा प्यारो र सुरक्षित महसुस हुने घर नै हो । दुनियाँको चिन्ता र भागदौडको वास्ता नगरी आफ्नै कर्ममा तल्लीन बाऊ अझै जवान भएछन् । बरु आमै पो कान्छो छोरोको पिरले अलिकति न्यास्राएकी वा दुब्लाएकी देखेँ । यसपाली पहिले झैँ बिहेको कर गरिनन् आमैले । ढुक्कै भो मलाई पनि ।
केही दिन घरको साने बनेर बिना काम कहिले कोठाको, कहिले बरण्डाको खाटमा डङरङ्ग पल्टिएर बिताएँ । लोकल गाईको दुध र घिऊ अनि लोकल कुखुराकै मासु र अण्डा दबाएर होला, शरिर पनि उक्सिन थाल्दै थियो । अनि तनाब पनि के को थियो र ? न कामको कर । न पिरोल्ने खर्चको डर ।
चित्र नं. ४
केहि दिनको विश्रामपछि लोसे पारामा गाउँ निस्किएँ म । मिल्ने साथीहरू गाउँमै भए त आएकै दिन दौडेर चक्कर लाउँथेँ हुँला । अब हेर्छु, सबै बुढापाका मात्र । उनीहरु पनि यता र उता दौडधुप गरिहेका । सबै केही न केही इलममा व्यस्त । आफ्नै कामको धुनमा मस्त । म फगत एक्लो तन्नेरी मान्छे, विना काम गाउँमा लखर–लखर हल्लिनलाई लाजै पो हुन लाग्यो ।
घाम र बादल लुकामारी खेल्दै गरेको एक शीतल बिहान चोकपारी हरिशंकर बाबैले चलाएको चिया दोकानभित्रको भित्री कुनामा पसेँ । चुरोटको धुवाँले हावालाई धमिलो पारेर पुराना कुरा कल्पदै यसै धुम्धुम्ती बस्न थालेँ । छेऊमा एक अपरिचित तर कताकता देखेको जस्तो लाग्ने मान्छे चिनी कमवाला चिया सुप्र्याउँदै मतिर एकटकले नजरको निशाना हान्दै थियो । उसको हेराईलाई धुवाँको मुस्लोको जवाफ दिएर म पनि अटेरी हेराइ फर्काउँदै थिएँ ।
“भाई यो गाउँमा नयाँ हो ?”
“यो गाउँलाई त म नयाँ होइन, मलाई पो यो गाऊँ नयाँ भयो ।”
“टु स्मार्ट । अनि बाइक छ हैन ?”
जुडोको कुरोलाई लुडोमा पुर्यायो उसले । छक्क पर्दै भए पनि भनेँ, “छ ।”
“लाइसेन्स ।”
“छ ।”
“काम गर्छौ त ?”
“कस्तो ?”
“बोलेर पिठो बिकाउने ।”
“भो । पिठो चाहिँ नबोकौँ होला ।”
“हा हा हा । गजब बोल्छौ भाई । पिठो त के बालुवा पनि बिक्छ तिमीले बोके ।”
एकैछिनपछि उसको र मेरो गजबको दोस्ती जम्यो । एउटा दलालले अर्को दलाललाई गन्धैले चिन्छ भन्थे । हो रहेछ ।
चित्र नं. ५
केहीदिनपछि बिमारूपी कागजको पिठो बेच्दै म पहाड उक्लिन थालेँ । उत्तर पश्चिमका पहाडी गाउँ छिचोले र झन्डै एक दर्जन ग्राहक थप्न पनि भ्याएँ । अब मेरो भागमा पूर्वउत्तरपटिको पहाडी पाखो आइलाग्यो । बाटो पहाडको टुप्पोमा पुगेर पुर्वपटिको ओरालो झथ्र्यो र घुमेर हाम्ै गाउँको पुर्वी फाँटमा जोडिन्थ्यो । किन हो मलाई यो पुर्वी पाखोमा आइपुग्नासाथ बेग्लै संसारमा पसेझैँ लाग्थ्यो । समयको बेग्लै संसार । परिवेशको बेग्लै संसार । पश्चिमपटिको पाखोमा अँगेनाको ओदानझैँ तातिएको घाम पुर्वपटि भने मध्यदिनमा पनि बिहानको झैँ कलिलो र न्यानै लाग्थ्यो ।
ठाउँ राम्रो भए पनि त्यहाँका मान्छे अलिक चाम्रा निस्किए, कमसेकम मेरा लागि । बिमाको नामै सुन्न नचाहने । केका लागि गर्नु ? सबै आनन्दले चलिआएकै छ । चल्न छाडेको दिन त सक्कीगो नि । यस्तै भावना झल्किन्थ्यो उनीहरूको अनुहार र बोली दुवैमा । तैपनि उनीहरूलाई मीठा गफको मिठाईमा भुलाउँदै फकाउने मेरो प्रयास जारी थियो । नभन्दै केही चाम्रा मान्छेलाई राम्रामा बदली पनि गरिसकेको थिएँ मैले ।
चित्र नं. ६
पुर्वको पाखो ओर्लदै जाँदा अरु ठाउँको भन्दा केही लामो जंगल छिचोलेपछिको एक दिउँसो म आइपुगेको थिएँ वनफेदी गाउँ । हरियो च्यादर ओडेर चट्ट मिलेर कान्लाहरुमा एकनासका घरहरु एकअर्कामा बात मारेर बसिरहेका । यो सुन्दरताको प्यालालाई रोकिएरै प्युने मन भयो । बाइक बिसाएँ र गाउँको बीचको सानो चोकमा रहेको चिया पसलमा बसेँ । आँगनमा कोक कम्पनीले दिएको ठूलो छाताको ओतमुनि प्लास्टिकको एउटा टेबल र चारओटा कुर्सी बिछ्याइएका थिए । भित्रबाट अस्पष्ट चल्मलाईरहेको एउटा नारी आकृतिका आँखाले तन्केर मलाई हेरे । मैले हाँसेर अभिवादन गर्दै एउटा चियाको सांकेतिक अर्डर गरेँ ।
यो पहाडको पुर्वी पाखो निकै गज्जबको रहेछ । उत्तर पुर्व हुँदै बहीरहेको शीतल हावा । माथिपटि सप्प मिलेर बसिरहेका चियाका बुट्यानहरु । तलपटि खिपेर बन्याइएको झैँ लाग्ने हरियो खोँच अनि आँखाले नभ्याउन्जेल देखिने मधेशको फाँट । तलबाट वाफझैँ उडिरहेको कुुइरो । पश्चिमपटिको अलिक अग्लो पहाडमा पानी पर्न ठिक्क परेको बादल । यता चिया बगानका पातहरुमा चमक भरेर चम्किरहेको मध्यान्हको तन्नेरी तर मायालु घाम । छायाँ त यहाँ खोज्नै परेन । हर चीजको छायाँमा कलाको काया परेझैँ लाग्ने ।
म महाकवि देवकोटाको के नेपाल सानो छ निबन्धलाई सम्झदैँ उही दृश्यमा चुर्लुम्म थिएँ । त्यो आकृतिले चिया ल्याएर आइछन् । अनुमानभन्दा बिल्कुल अर्को अनुहार सामुन्ने पाएर म एकछिन त अलमलमा परेँ । हेर्दै दङ्ग्याउने हँसिलो मुहार र चम्किला मसिना आँखाहरु । तर मैले धेरबेर त्यसरी अल्मलिनु उचित थिएन । चियाको गिलास समात्दै चुरोट मगाउँछु । चियाको एक सुरूपले नै गजबको आनन्द उमार्यो मनभरी । आकृति चुरोट लिन जाँदा पछाडीबाट पनि थाहै नपाई प्रतिलिपी उतार्न लाग्यो आनन्दित मनको मिसिनले ।
चित्र नं. ७
अब वनफेदी गाउँमा विश्राम लिनु मेरो एउटा नियमित क्रिया भयो । नजानिँदो आनन्दमा हेलिएर मनलाई शान्त बनाउन पाउँथे म त्यहाँ । ग्राहक थप्ने प्रयासको थालनी सुरू गर्न पनि खासै जाँगर चलेन त्यहाँ । कोकवाला ठूलो छातामुनि बसेर म वरपरको दृश्य र आकृतिका चन्चल आँखाहरुमा डुब्दै हराउन थालेँ । बेला मौन बस्ने मुहार । बेला मजाले हाँसो उमार्ने मुहार । बेला कतै एकोहोरिएका नजर । बेला कुन इशारामा हो नाँचेका नजर । म मनमनमा अन्जान आकृतिका चित्रहरु अझ कोर्दै थिएँ । किन हो, यसपाली आमैले बिहेको कर गरे पनि हुने जस्तो लाग्दै थियो मनमनमा । कोरोना कहरमा बिहेको रहर । न भोज न भतेर । सुटुक्क गरेँ के भो र ? साथ दिउँला न जीवन भर ।
हत्तेरी ! म पनि बढ्तै उछालिन थालेछु मनभित्र भित्रै ।
ठूलो बाटोको दायाँपटि शाखा बाटो बनाउन जुधिरहेका केही थान डोजरहरूको आवाज र कम्पनले झन्डै अढाई रेक्टरको भुँइचालो बराबर हल्लाइरहेथ्यो । भुईंकम्पनको मजासँगै मनलाई पनि कम्पित बनाउँदै बाक्लो चियाको मीठो सुरुप लाइरहेँ ।
यो सानो वनफेदी गाउँ कति निष्फिक्री देखिन्छ । लकडाउनले पर्यटकीय ग्राहकहरूको चाप घटेको चिन्ता किन्चित पनि देखिदैँन यहाँका मान्छेहरूको मुहारमा । हरेक धुरीका मान्छेहरु आफ्नै धुनमा मस्त छन् । चिया र छुर्पी पसल भएको यो चिटिक्क परेको घरको निकै अध्ययन गर्दै थिएँ म मनमनै । माथिपटिको बारदलीमा एउटी आमै आरामसँग बसिरहेको देख्छु जहिल्यै । म भएको बखत यथास्थानबाट कहिल्यै उठिनन् । बारदलीको बारमा अडेस लगाएर मोबाइल हेरिरहन्थिन् । भाइरल कन्टेन्टले भरमार युट्युब भिडियोहरूमा उनको निकै चाख रहेको कुरो तलैबाट म प्रस्टै सुन्थेँ ।
चित्र नं. ८
एकदिन बिहानैदेखि आकासलाई डम्म ढाकेर धम्की दिइरहेको थियो कालो बादल । नभन्दै म वनफेदी आइपुगेर चियाको पहिलो सुरूप लाउनासाथ दर्किएर आक्रमण थाल्यो । कोकवाला छाताले टाउकोसम्म त जोगाउँथ्यो होला तर जिऊ नै त के भन्न सकिन्थ्यो । मेरो अप्ठेरो बुझेर होला उनै आकृतिले घाँटी लम्काउँदै भनिन्, “भित्रकै बेन्चीमा आएर बस्नुहोस् न ।”
यतिका दिनसम्म आकृतिका आँखाहरू केही परिचित पक्कै बनेका थिए । बेलाबेला मुस्कानका सम्वादहरू हुन्थे । तर मन त्यति हडबड्मा थिएन । मलाई अहिलेसम्म आकृतिको नाम थाहा थिएन । उही आकृति भनेर नै पो सम्बोधन गर्थेँ मनभरी । असली नाम सोध्ने पनि कसोरी ? बाटोमा पर्ने पसलमा चिया पिउन पस्ने एउटा ग्राहकलाई नामको के चासो ? अर्थ राम्रो नलाग्लाको डरले मलाई चेपिरहेको थियो । बोलचाल यस अघि मैले भन्ने “एककप चिया र एउटा चुरोट” अनि उसले पैसा फिर्ता गर्दा भन्ने “लिनुस्” मा मात्र सिमित थियो । आज उसले भित्रको बेन्चीमा आएर बस्नु भनेर हाम्रो बोलचाललाई अर्को चरणमा पुर्याइदिई । तर म विल्कुल होसमा थिएँ । हो, मेरो मनमा धेरै सुन्दर सपनारूपी चित्रहरू कोरिएका छन् । उता मैले उसको मनमा कोर्ने पहिलो चित्र पनि त बिग्रनु भएन ।
भित्र बेन्चीहरूमात्र होइन, एक थान टेबल र दुई थान डेस्क पनि रहेछन् । मैले बाहिरबाट अहिलेसम्म नदेखेको सामानको र्याकमाथि सत्र इन्चीको सानो एलइडी टिभी पनि रहेछ । ऊ सानो आवाजमा त्यही टिभीमा सिरियलहरु हेरेर बस्दीरैछे । उसका मुहार र नजरमा नाँच्ने भाव त यही टिभी हेरेर पो उब्जिएको रहेछ ।
म टेबल भएको बेन्चीमा गएर बसेँ । बाहिर हाँडी घोप्ट्याएझैँ एकतमासले झरी परिरहेको थियो । धेरैपछि यस्तो आवाजका साथ यति ठूलो झरी परेको प्रत्यक्ष देख्दै थिएँ । चियाको सुरूप लाउँदै धित मरून्जेल हेरेँ ।
चित्र नं. ९
झरी रोकिएर सिमसिम पानी पर्न थालेको थियो । मैले अर्को कप चिया थपेँ । अनि पो देखेँ, टेबलको भित्तापटि केही कापीकिताब खात लगाएर राखिएका रहेछन् । लेखपढसम्बन्धी जे पाए पनि सकसक भएर पल्टाउन मन लाग्ने मेरो बानी । मैले एउटा कापी तानेर हेरेँ ।
“नाम : प्रतिविम्ब राई ।
कक्षा : दुई ।
विषय : चित्रकला ।”
उत्सुक हुँदै पल्टाएँ । पहिलो पानामा यही वनफेदी गाउँको दुरुस्त पेन्सिल स्केच उतारिएर तल लेखिएको थियो , “स्वर्गजस्तो मेरो गाऊँ । वनफेदी हो यसको नाऊँ ।”
अर्को पानो पल्टाएँ । त्यहाँको स्केचमा यही वनफेदीको चिल्लो सडक थियो र त्यो सडकमा एउटा फुच्चे साइकल गुडाउँदै मैतिर आउला झैँ देखिएको थियो । स्केचको तल लेखिएको थियो , “साइकल नभए पनि रुन्न बाबा, लाउँदिन अब कर । चाँडै फर्कि आउनु अनि बस्नु ल आफ्नै घर ।”
फेरि अर्को पानो पल्टाएँ । त्यहाँको स्केच देखेर एक्कासी हड्बडाएँ म । झरीले डोजरहरु रोकिए पनि सात रेक्टरको भुइँचालोले हल्लाए झैँ भयो बसेको ठाउँमा मलाई । स्केचमा चारजना थिए । हेर्ने बित्तिकै थाहा हुने हजुरआमा र साथमा बाबु, आमा र छोराको सुन्दर स्केच थियो त्यो अनि आमा थिइन् उनै आकृति । स्केचको मुनि यसपल्ट लेखिएको थियो, माई स्विट फेमिली ।
मेरो मनभित्रको सुन्दर स्केचको आकृति एक्कासी लत्पतियो र त्यो नयाँ स्केच टाँसियो । कस्तो भ्रममा परेछु म ? टिभीमा एकोहोरिएकी आकृतिलाई हेरेँ । विवाहित महिलाको कुनै मांगलिक संकेत छैन उनको भुषामा । जमानाको कुरा होला । मान्छेको इच्छाको कुरा होला । यस्तै सम्झँदै केही छिन् भावशुन्य भएँ अनि अर्को पानो पल्टाएँ । त्यहाँ प्रतिविम्बका बाबुको पानाभरीको स्केच खिचिएको थियो र त्यसको मुनी लेखिएको थियो, आइ मिस यु ड्याड । प्रतिविम्बका बाबु पक्कै रोजगारको सिलसिलामा विदेश होलान् । आखिर प्रत्येक घरधुरीको कोही न कोही हुने नै किल्ला हो । अडक्ल काड्दै थप जिज्ञासाका साथ अर्को पानो पल्टाएँ । तर त्यहाँ सुरु गरिएर अपुरै छाडिएको एउटा स्केच थियो । के होला मैले अन्दाज पनि गर्न सकिनँ । थप खाली पानाहरु केही कोरिन प्रतिविम्बकै पर्खाईमा बसेर खुइय गर्दे थिए ।
एउटा चिन्दै नचिनेको फुच्चेले बनाएका चित्रहरु कति चाँडै मनमाथि चढेछन् । एक्कासी मभित्र प्रतिविम्बलाई बर्षौदेखि चिनेको भान भरिएर आयो । दिमागले रोकिई भन्दाभन्दै मन हुत्तिएर आयो । एक्कासी सोध्न पुगेछु , “प्रतिविम्ब चाहिँ खोई त आजकाल ?” (बाँकी अंश अर्को साता…)
(मिलन संग्रौला च्याट गर्ल कथा संग्रह र पर्पला उपन्यासका लेखक हुन् ।)