रहेनन् कांग्रेसका नेता नवीन्द्रराज जोशी
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको हो ।
गत फागुन १४ गते बिहान बाँया हात र खुट्टा बाउँडिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। अस्पताल आउँदासम्म बोलिरहेका उनी त्यसपछि भने बेहोस भएका थिए । वीरका डाक्टरले सिटी स्क्यान गर्दा टाउँकोमा रगत जमेको देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताललमा रिफर गरिदिएका थिए।
राति नर्भिक पुग्दा उनी लगभग कोमामा पुगिसकेका उनको उपचारको नेतृत्व गरेका न्युरो सर्जन राजीव झाले सोही दिन अपराह्न पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।
डा झाका अनुसार नेता जोशीलाई नर्भिक अस्पतालमा श्वास फेर्न सहज होस् भनेर आकस्मिक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। घाँटीबाट वान्ता भएको वस्तु निकालिएको थियो। नर्भिक अस्पतालमा आइपुग्दा नै नेता जोशीको आँखाको दुवै नानी फुलिएको पाइएको पनि उनले बताएका थिए। उनले नर्भिक अस्पतालमा पनि फेरि सिटिस्क्यान गरिएको र सो रिपोर्टमा टाउकोमा पानी जमेको पाइएको पनि बताएका थिए।