सार्वजनिक ठाउँमा होली खेल्न निषेध, उपत्यकामा ५ हजार प्रहरी परिचालन
१३ चैत, काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको छ ।
कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।
यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।
महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिए।
सडक, चोक तथा सार्वजनिक स्थानमा भीड थुपारेर होली पर्व मनाउने, पानी छ्याप्ने, लोला हान्ने र जबर्जस्ती रङ अबिर दल्ने कार्यमा रोक लगाइएको स्पष्ट पार्दै उहाँले सुरक्षित रूपमा होली खेल्न आग्रहसहित सर्वसाधारणको सचेतनाका लागि ‘माइकिङ’ गरिने बताए । यही १५ गते होली पर्वमा सुरक्षा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।