१ आश्विन २०७८, शुक्रबार

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको प्रतिवद्धता



१२ चैत, काठमाडौं । यहि चैत १० गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाबाट सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका सुदेश पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिवद्धताको पूर्ण पाठः

कम्युनिस्ट आन्दोलन र विद्यार्थी आन्दोलन त्यसमा पनि अनेरास्ववियुमा देखिएको गम्भीर बैचारिक विचलन र सत्ताको पुच्छर बन्ने यो प्रवृत्तिको विरुद्धमा यस परिस्थितिमा संगठनको मूल नेतृत्व गर्ने जिम्मेवारी काँधमा आइपुगेको छ ।

यो जिम्मेवारीका लागि योग्य ठान्ने पार्टी नेतृत्व तथा अनेरास्ववियुका तमाम नेता कार्यकर्ताहरू प्रति आभारी छु हृदयदेखि नमन गर्दछु । साथै कम्युनिस्ट आन्दोलनलाई एकताबद्व गर्न अनेरास्ववियुको त्यो रत्तिम र लाल इतिहासलाई जोगाउन, अनेरास्ववियुलाई गुटफुटबाट बचाउन मेरा पाईलाहरू अवश्य पनि अघि बढ्ने छन्, अनेरास्ववियुलाई त्यसै अनुसार नै अघि बढाउने छु, दबाब र जागरण भुमिकालाई झनै सशत्त पार्ने काम हुनेछ । संघठन भित्र देखिएको अराजकता र विकृति, शिक्षा क्षेत्रमा देखिएको निजीकरण र व्यापारीकरणका विरुद्ध निर्मम ढंगले अघि बढ्ने प्रण व्यक्त गर्दछु ।

विद्यार्थी आन्दोलन क्रमशः विश्वविद्यालय, क्याम्पस र शैक्षिक संस्थाहरूबाट टाढिदै गएको वर्तमान अवस्थालाई अव पुनः शैक्षिक संस्था र प्राज्ञिक उन्नयनमा जोड्न मेरो सार्थक पहल कदमी रहनेछ ।

राजनीतिक स्वतन्त्रता प्राप्तिको आन्दोलनको अग्रणी दस्ताका रूपमा स्थापित अनेरास्ववियुको पहिचान यतिबेला सत्ताको तावेदारी गर्नमा सिमित भएको छ, यस्ता गलत हर्कतबाट अनेरास्ववियुलाई सडक बाघको पहिचान सहित अघि बढाउनु पर्ने छ ।

प्रतिगमनका जुनसुकै गलत कार्यका विरुद्ध लडिनेछ, विद्यार्थी आन्दोलनको शाख जोगाउँदै नयाँ आयाम थप्न प्रयत्न गरिनेछ । अनेरास्ववियुको आन्दोलन वास्तवमा भन्ने हो भने समग्र राजनीतिक व्यवस्थाको आन्दोलन प्राप्तिको अगुवा पनि हो ,जतिबेला जनताका अधिकारहरू बन्देज गरिएका थिए त्यति बेलामा अनेरास्ववियुले राजनीतिक स्वतन्त्रताका लागि नेतृत्व गरिरहेको थियो ।

आज हामीले व्यवस्था बदल्यौं तर अवस्था बदल्न सकेका छैनौ त्यसैले वर्तमान अवस्थामा नयाँ नयाँ चुनौतीहरू हाम्रा अघि देखा परेका छन् , यी तमाम चुनौतीहरूलार्इ चिर्दै आजको हाम्रो संबिधानमा लेखिएको समाजवादी कार्यदिशा तय गर्ने गरी अबका आन्दोलन तय गर्नुछ ।

हाम्रो संविधानले ग्यारेण्टी गरेको हाम्रो मौलिक अधिकार शिक्षा, स्वास्थ्य, रोजगार व्यवहारमा लागु हुनुपर्छ ।

कम्युनिस्ट आन्दोलन छेद बिच्छेद हुन लागेको अवस्थामा, समाजवादको यात्रा छिन्न भिन्न भएको बेलामा युगिन जिम्मेवारी मेरो काँधमा सुम्पिनुभएको छ ।

यी सबै कार्यभारलाई अगाडि बढाउँदै बिगतको झझल्को दिने गरी न्याय ,सत्य, निष्ठाको पक्षमा आफ्नो एक सास रहेसम्म अगाडि बढ्ने दृढ प्रण गर्दछु । अबको अनेरास्ववियुलाई विद्यार्थीको पक्षमा, आन्दोलनको पक्षमा काम गर्दै सम्रग राजनीतिक आन्दोलनलाई दवाव र जागरणको भूमिकामा अगाडि बढाउने अठोट गर्दछु । राष्ट्रिय कार्यकर्ता भेलाबाट मलाई अध्यक्षको जिम्मेवारी सुम्पिनुहुने तपाई सम्पुर्ण प्रतिनिधि,आम कार्यकर्ता, सहभागी सबैलाई हृदयदेखि विशेष आभार व्यक्त गर्दै यो युगिन जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको