बुबाको अंगालोमा जान खोज्दै गर्दा बालिकालाई गोली हानी मारियो
१२ चैत, बीबीसी । म्यानमारमा सेनाले एक सात वर्षीया बालिकालाई उनको घरमै गोली प्रहार गरि मारेको घटनाले यतिबेला पूरै विश्वलाई स्तब्ध बनाएको छ ।
किन म्यो छित नामक ती बालिकाको परिवारले बीबीसीसँग बताए अनुसार उनी आफ्ना बुवाको अंगालोमा जान खोज्दा दौडिने क्रममा उनलाई गोली प्रहार गरिएको थियो । मेन्डेले सहरस्थित उनीहरुको घरमा सेनाले छापा मारिरहेका बेलामा यस्तो भएको बताइएको छ ।
फेब्रुअरी १ देखि जारी सेनाको कू विरुद्ध आन्दोलनरत् नागरिकहरुमाथि पछिल्लो समय सेनाले अत्याधिक बल र हिंसा प्रयोग गर्दै आइरहेको छ । यसरी सुरक्षाकर्मीकै गोली लागेर र कुटपिटबाट मृत्यु हुनेको सङ्ख्या २६१ भन्दा धेरै पुगिसकेको अभियन्ता समुहले जानकारी दिएको छ । ती मध्ये २० जना त बालबालिकाहरु रहेको अधिकारवादी समूहले जनाएको छ ।
मंगलबार भने सेनाले मृत्यु भएका प्रदर्शनकारीहरुप्रति दुःख व्यक्त गरेको छ तर साथसाथै अराजक व्यवहार र देशमा हिंसा भड्काएको भनेर उनीहरुमाथि नै आरोप पनि लगाएको हो ।