पार्टी सदस्यको हैसियतले नेता अर्यालले मागे ओलीको स्पष्टिकरण
१० चैत, काठमाडौं । नेकपा (एमाले)का नेता दामोदर अर्यालले पार्टी सदस्यका हैसियतले नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ दिने अल्टिमेटमसहित सामाजिक सञ्जालबाट स्पष्टिकरण मागेका छन् । उनले नेकपा (एमाले) र माओवादी केन्द्र बीचको एकिकरणदेखि अहिलेसम्मका ज्वलन्त प्रश्नहरूलाई उठाई ओलीको स्पष्टिकरण मागेका हुन् । यदि ३ दिनभित्र जवाफ नदिएमा जनता र कार्यकर्ताहरुको भावना र दृढता अनुसार तपाईंलाई जे हुनुपर्ने हो, सोही बमोजिम हुने कुरा लेखिएको छ ।
फेसबुकमार्फत् अर्यालेले ओलीलाई मागेको स्पष्टिकरणमा लेखिएको छ, ‘माओवादी केन्द्र सङ्ग पार्टी एकता किन गर्नुभयो ? एमाले विघटन र जबज परित्यागको कागजमा किन हस्ताक्षर गर्नुभयो ? प्रचण्डसङ्ग आधा आधा सरकारको नेतृत्व गर्ने भनेर किन सहि गर्नुभयो ? सहि गरिसके पछि त्यसको पालना किन गर्नुभएन ? एकीकृत पार्टीको बैठकबाट किन भाग्नुभयो ? संसद किन विघटन गर्नुभयो ? विघटन असम्बैधानिक भनेर अदालतले फैसला गरिसके पछी सार्वजनिक रुपले किन आत्मआलोचना गर्नुभएन ? अदालतले एमाले ब्युताएपछी पार्टीका सम्पुर्ण साङ्ठनिक संरचनाहरुलाई पुनर्स्थापना गर्न किन मान्नुभएन ? नवौ महाधिवेशनले निर्माण गरेको विधान मान्न किन तयार नहुनु भएको हो ? आफ्नो नामको जयजयकार गर्न किन लगाउनु भएको हो ? जयजयकार नै गर्नुपर्ने त्यस्तो काम के गर्नुभएको छ ? पार्टी प्रवेश नगरी, सदस्यता पनि प्राप्त नगरेका मान्छेहरुलाई कसरी केन्द्रिय सदस्य नियुक्त गर्नुभयो ? यस्ता हजारौं प्रश्नहरु छ्न । यी सबै प्रश्नहरुको उत्तर ३ दिन भित्र दिनुहोला । नत्र जनता र कार्यकर्ताहरुको भावना र दृढता अनुसार तपाईंलाई जे हुनुपर्ने हो, सोही बमोजिम हुने कुरा जानकारी गराईन्छ ।’