२० श्रावण २०७८, बुधबार

ओलीले थाले नेपालसहित ४ नेतालाई कारबाही



१० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्रमा प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको कारण के हो भनिएको छ ।

महासचिव ईश्वर पोखरेलले पार्टी कार्यालय धुम्बाराहीका कर्मचारीले स्वकीय सचिवहरु मार्फत् वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरु – भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई बुझाएको पत्रमा प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको उदेश्य सोधिएको छ ।

पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले ३ दिनभित्र जवाफ पेश गर्न पत्र पठाइएको बताए । ‘तीन दिनको समय दिएर पत्र स्वकीय सचिवलाई बुझाएका छौं,’ रिजालले भने । ओली समूहको ७ गतेको केन्द्रीय कमिटीको बैठकले नेपाल समूहका ४ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

महासचिव पोखरेलको हस्ताक्षर रहेको स्पष्टीकरणपत्रमा वरिष्ठ नेता नेपाललाई १०बुँदे, उपाध्यक्ष रावल र स्थायी कमिटी सदस्य पाण्डेलाई पाँच–पाँचबुँदे तथा उपमहासचिव भुसाललाई चारबुँदे प्रश्न छन् । ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेकाले भुसाललाई चारबुँदे स्पष्टीकरण सोधिएको हो ।

पार्टी विधानविपरीत पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध विभिन्न क्रियाकलापको नेतृत्व र अगुवाइ गरेको स्पष्टीकरणपत्रमा आरोप लगाइएको छ । पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णयविपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको र पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको आरोप पनि स्पष्टीकरणमा लगाइएको छ ।

ओलीले सुरुमा ४ जना नेता सहित नेत्री रामकुमारी झाक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय भए पनि ओलीले झाँक्रीलाई सोध्नु आवश्यक नभएको बताए पछि निर्णय फेरिएको थियो । सो निर्णय भएको दुई दिनपछि स्पष्टिकरणको पत्र थमाइएको हो । आफूलाई कारवाही गर्ने ओलीसँग नैतिक हैसित नभएको दाबी गरिरहेका नेपाल समूहका नेताहरु भने ओलीले कारवाहीको तयारी थालेपछि त्यसको काउन्टरमा के गर्ने भन्ने विषयलाई लिएर छलफलमा जुटेका थिए । चैत ४ र ५ गतेको नेपाल समूहको भेला नरोकिए विधान अनुसार चल्ने ओलीले चेतावनी दिएका थिए । उक्त चेतावनीलाई नेपाल समूहका नेताले चुनौती दिँदै आएका थिए । ओली स्पष्टिकरणमै नरोकिन भन्दै आफूविरुद्ध थप कदम चाल्न सक्ने भएकाले त्यसैको रणनीतिमा नेपाल समूहका नेता जुटेका हुन् । हाल नेपालसँग ३८ जना सांसद छन् भने ३८ जिल्ला अध्यक्ष र ९० जना केन्द्रीय कमिटी सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु