२० जेष्ठ २०८०, शनिबार

सावधान ! काेराेनाकाे दोस्रो लहरको जोखिम बढ्यो



९ चैत, काठमाडौं । बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हुँदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्यसको अत्यधिक असर देखिएको थियो ।

यसपटक पनि भारतमा संक्रमितको संख्या अत्यधिक बढ्नु तथा नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण संक्रमणको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका हुन् ।

केही दिनयता नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दोक्रममा रहेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याकंमा भारतमा ३ लाख ९ हजार ८७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने कुनै पनि किसिमका सभा–सम्मेलन नगर्न सबैलाई अपिल गरेको छ । भारतमा कोरोना संक्रमण दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन आयोजना नगर्न अपिल गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको