१६ श्रावण २०७८, शनिबार

भारतबाट आउनेमाथि कडाइ, सीमामा स्वास्थ्य जाँच अनिवार्य



८ चैत, काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ ।

त्यहाँ हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सीमा क्षेत्रको मुख्य नाकामा निगरानीलाई बढाइएको उनको भनाइ छ । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली स्वदेश गाउँ फर्किन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।

मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको उनको भनाइ छ ।

सीमानाकालाई थप व्यवस्थित बनाउन आज स्थानीय सरकारसहित सम्बन्धित निकायलाई पत्राचार गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए । यस्तै, कोरोना भाइरसको नियन्त्रणका लागि भारतबाट फर्किएका नेपालीलाई १४ दिन घरभित्रै क्वरेण्टीनमा बस्न आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु