५ आश्विन २०८०, शुक्रबार

ओलीविरुद्ध खनिए रावल, ‘हामीले होइन ओलीले स्पष्टिकरण दिनुपर्छ’



८ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहितका नेताहरुलाई स्पष्टिकरण सोध्ने केपी ओलीको पक्षको निर्णय अवैध र हास्यास्पद भएको बताएका छन् । ट्विट गर्दै नेता रावलले ओली पक्षको निर्णय अस्वीकार गर्दै प्रधानमन्त्री केपी ओलीले चाहिँ स्पष्टीकरण दिनुपर्ने तर्क गरेका छन् ।

‘केपी शर्मा ओलीजीले अवैध कमिटीको कथित बैठकबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ,’ नेता रावलले ट्विटमा लेखेका छन्, ‘त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु।’

नेता रावलले उक्त ट्विटमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नै जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने तर्क गरेका छन् ।

‘एमालेको विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ,’ रावले ट्विटमा लेखेका छन् ।

शनिबार मात्रै ओली पक्षीय एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। नेताहरू नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको