२८ बैशाख २०७८, मंगलवार

विवाह कार्डमा उमेर अनिवार्य राख्नुपर्ने



चैत ८, सिन्धुली । जिल्लाका स्थानीय तहहरू बालविवाह अन्त्य गर्ने अभियानमा जुटेका छन् । वि.सं. २०७८ सम्म प्रदेशलाई बालविवाहमुक्त बागमती प्रदेश बनाउने प्रदेश सरकारको नीतिअनुरूप सिन्धुली जिल्लाका नौवटै स्थानीय तह उक्त अभियानमा जुटेका हुन् ।

गोलन्जोर गाउँपालिकाको महिला तथा बालबालिका शाखाले बालविवाह अन्त्यका लागि प्रत्येक वडामा वडास्तरीय बाल अधिकार समिति गठन गर्न शुरु गरेको छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष दौलत कार्कीले पालिकाका सातवटै वडामा समिति गठन गर्ने अभियान सञ्चालन गरेको जानकारी दिँदै चैत १ गतेदेखि शुरु गरिएको उक्त अभियानअन्तर्गत छवटा वडामा वडाध्यक्षको संयोजकत्वमा नौ देखि ११ जना रहने गरी बाल अधिकार समिति गठन गरिएको जानकारी दिए ।

गोलन्जोर गाउँपालिकामा बालविवाह अन्त्यका लागि उपाध्यक्ष गङ्गामाया श्रेष्ठको संयोजकत्वमा बालविवाह न्यूनीकरण समिति गठन गरी समितिमार्फत चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले ‘मरिणभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारा नै बनाएर बाल संरक्षण नीतिमार्फत बालविवाह न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु