मध्यरात खसेको पहिरोले बगायो घर, निन्द्रामै पुरिए घरमुली
९ साउन, दैलेख । जंगली जनावर, सर्प, किरा फटयांग्रा, पानी र हावाहुरीबाट सुरक्षित हुनलाई हामी घरमा बस्दै आएका छौं । त्यही सुरक्षा दिने घरमा मस्त निदाइरहेको अवस्थामा पहिरोले घरै बगाएर आफै पुरिएको कि सपनामा देखिन्छ कि त कल्पना गर्न मात्रै सकिन्छ । तर दैलेख जिल्लाको ठाँटिकाध गाउँपालिका वडा नम्बर ३ निवासी रंगबहादुर आलेमगरले भने यो विपनामै भोग्नुप्यो ।

यहि साउन १ गते राती सपरिवार मस्त निदाइरहेका रंगबहादुर आलेमगरको घर मध्यराती खसेको पहिरोले बगाइदियो । घरमुली रंगबहादुर, उनकी श्रीमति चन्द्रा आले र छोरा हिमालबहादुर आले पहिरोले लडाएको घरले पुरिए । मर्दा–पर्दा कामलाग्ने छिमेकीले पहिरो गएको थाहा पाउने बित्तिकै तत्काल उनिहरुको उद्दार गरे ।

घरले च्यापिएका मुली रंगबहादुर आले र उनकी श्रीमति चन्दा आले गम्भिर घाइते भए । घरमुली आले र सामान्य घाइते भएका उनका छोरा हिमाल उपचार पछि तंग्रीएपनि श्रीमति चन्दा आलेलाई भने थप उपचारका लागी नेपालगञ्जको भेरी अस्पताल पठाइएको छ । अलिअलि भएको जायजेथा र घर पहिरोले बगाइदिए पछि निकै कमजोर आर्थिक अवस्थाका आले परिवार भेरी अस्पतालको उपचार खर्च जुटाउन सक्ने अवस्थामा छैनन् ।

श्रीमती चन्दा आलेको उपचारका लागी आफ्नो अवस्था अनुसार सहयोग गरिदिन घरमुली रंगबहादुर आलेलाई सम्पुर्णलाई अनुरोध गरेका छन् ।