कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त
३ चैत्र, काठमाडौं । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता मातृकाप्रसाद खनाल नियुक्त हुने भएका छन् । संविधानको धारा १६० को उपधारा २ को व्यवस्था बमोजिम दैलेख निवासी खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख समक्ष सिफारिस गरिसकेका छन् ।
मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले गत फागुन १३ गतेदेखि लागु हुने गरि राजीनामा दिएपछि उक्त पद रिक्त थियो । केही दिनमै प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरी मुख्य न्यायाधिवक्ताको पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।
लामो समयदेखि अधिवक्ता भएर न्याय सम्पादनमा सक्रिय खनालले प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहत रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने व्यवस्था गरेको छ ।
प्रदेश सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा मुख्य न्यायाधिवक्ता वा निजको मातहतका सरकारी वकीलबाट प्रदेश सरकारको प्रतिनिधित्व गरिने संवैधानिक व्यवस्था छ ।