ओलीले राखेको चियापान नेपाल पक्षले बहिष्कार गर्ने
चैत २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको चियापान कार्यक्रम माधवकुमार नेपाल पक्षका नेताहरुले बहिष्कार गर्ने भएका छन् ।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले बालुवाटारमा मंगलबार विहान ११ बजे चियापान कार्यक्रम राखेका छन् । सो कार्यक्रमका लागि मोबाइल एसएमएस मार्फत केन्द्रीय सदस्यहरुलाई निम्ता गरिएको छ । तर, माधव पक्ष भने सो निम्ता अस्वीकार गर्ने मनस्थितिमा रहेको छ ।
एक नेताका अनुसार मंगलबार बोलाइएको चियापानमा माधव समूहका कोही पनि सहभागी हुँदैनन् । ती नेताले भने, ‘ओलीले पार्टीको विधान मिचेर, अर्को समूहलाई पेल्ने हिसाबले पदाधिकारी खारेज गर्दै केही निर्णयहरु गरेका छन् । ति निर्णय हामीलाई मान्य छैन । त्यो निर्णय नसच्चिएसम्म हामीले ओलीले बोलाएका यस्ता कार्यक्रममा सहभागी हुँदैनौं ।’
यता, माधव पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । यो भेलाको अघिल्लो दिन अध्यक्ष ओलीले चियापान कार्यक्रम राखेका छन् ।