२० श्रावण २०७८, बुधबार

कति धनी छन् ह्यारी र मेगान ?



चैत २ , काठमाडौं । राजकुमार ह्यारीले हालैको एक अन्तर्वार्तामा राजदरबार छाडेपछि परिवारले आफूलाई आर्थिक सहयोगमा पूर्ण कटौति गरिदिएको बताएका थिए । उनको यस्तो खुलासापछि अमेरिकामा ह्यारी मेगानको बसाइ कुन आम्दानीबाट चलिरहेको छ भन्नेबारे चर्चा चलिरहेको छ ।

ह्यारी र उनकी पत्नी मेगानले २०२० को जनवरीमा आफूहरुले राजपरिवारको सदस्यका रुपमा काम गर्न बन्द गर्ने घोषणा गरेका थिए र आर्थिकरुपमा पनि स्वतन्त्र हुनेतर्फ काम गर्ने बताएका थिए ।

यही नयाँ सम्झौता अन्तर्गत केही समयका लागि ह्यारीका पिताले उनीहरुलाई भुक्तानी गर्ने भनिएको थियो तर सो पैसा कहाँबाट आउछ, चार्ल्सको व्यक्तिगत सम्पत्ति या राजपरिवारको कोषबाट भन्ने चाहिँ स्पष्ट छैन ।

ह्यारीका पिता चार्ल्सको अकाउन्टमा २०२० को मार्चसम्म राजपरिवारका दुईवटै जोडी ः हयारी–मेगान र विलियम–केटका लागि ५६ लाख पाउन्ड खर्च भएको देख्न सकिन्छ । तर राजकुमार ह्यारीले चर्चित टेलिभिजन प्रस्तोता अपराहसँग दिएको हालैको अन्तर्वार्तामा त्यसपछि राजपरिवारले आफूलाई पूर्ण रुपमा आर्थिक सहयोग गर्न छाडेको बताएका छन् ।

यसमा राजकुमार चार्ल्सको अकाउन्टको अहिलेको डाटाबारे कुनै खुलासा भएको छैन भने उनको निजी अफिसले पनि यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ ।

कति धनी छन् ह्यारी र मेगान ?

राजकुमार ह्यारी र मेगान दुवैसँग उल्लेखनीय व्यक्तिगत सम्पति छ । ह्यारी र उनका दाजु विलियमले स्वर्गीय आमा, राजकुमारी डायनाबाट १ करोड ३० लाख पाउन्ड बराबरको सम्पति प्राप्त गरेका थिए । र अपराहसँगको कुराकानीमा ह्यारीले आफूसँग आमाले छाडेर गएको सम्पतिबाहेक केही नभएको र सो रकमबिना आफूहरुले त्यति ठूलो कदम उठाउन नसक्ने बताए । त्यस्तै ह्यारीलाई उनकी पुर्ख्यौली हजुरआमाले पनि लाखौँ पाउन्ड छाडेर गएको बीबीसीका रोयल संवाददाता निक विचवेल बताउँछन् ।
उता मेगानले चाहिँ आफू अभिनेत्री हुँदाको समयमा टेलिभिजन कार्यक्रम, ‘सुट्स’ का लागि प्रति एपिसोड ५० हजार पाउन्ड लिने गरेकी थिइन् भने उनको आफ्नै लाइफस्टाइल ब्लग पनि थियो । यसका साथै क्यानेडियन ब्रान्डका लागि फेशन लाइन पनि उनी आफैँले डिजाइन गर्ने गर्थिन् ।

अन्य आम्दानीका स्रोतहरु केके छन् ?

राजपरिवारका सक्रिय सदस्य नभएको हुँदा ह्यारी र मेगानले स्वतन्त्र रुपमा आयआर्जन गर्न पाउँछन् । उनीहरुलाई हालै सार्वजनिक अन्तर्वार्ताका लागि कुनै भुक्तानी गरिएको थिएन तर ‘नेट्फ्लिक्स’ र ‘स्पोटिफाइ’ जस्ता स्ट्रिमिङ सेवाका लागि भने उनीहरुले विभिन्न सम्झौता गरिसकेको खबरमा आएको छ । ती परियोजना लाखौँ डलर बराबरको हुन सक्ने अनुमान गरिएको छ ।
उनीहरुको सुरक्षाको खर्च कसले गर्छ ?

ह्यारी–मेगान बेलायतमा बस्दा उनीहरुलाई महानगर पुलिसले सुरक्षा दिइरहेको थियो जसको लागतबारे खुलासा गरिएको छैन । यसपछि क्यानडाको सरकारले उनीहरुलाई सुरक्षा नदिने घोषणा गरेपछि ह्यारी र मेगान अमेरिका बसाइ सरेका हुन् ।

उनीहरुले गरेको खुलासाअनुसार लकडाउनका सुरुवाती महिनाहरुमा अमेरिकी अर्बपति एवम् मिडिया मोगुल टाइलर पेरीले उनीहरुलाई बस्नका लागि घर र सुरक्षा दिलाएका थिए । ‘पैसाको पछि लाग्ने’ भन्ने जस्ता आरोपहरुबारे अपराहले प्रश्न गर्दा ह्यारीले नेट्फ्लिक्स र स्पोटिफाइबारे आफूहरुले अगाडि योजना नबनाएको तर पछि गएर आवश्यक भएको बताएका हुन् । उनले भनेका छन्, “मलाई केबल आफ्नो परिवारलाई सुरक्षित राख्नका लागि पर्याप्त पैसा चाहिएको थियो । ’

राजपरिवारको सदस्यमा हुँदा कहाँबाट हुन्थ्यो खर्च ?

राजपरिवारबाट बाहिरिनु अगाडि यस जोडीको ९५ प्रतिशत आम्दानी राजकुमार चार्ल्सको ‘डची अफ कर्नवाल’ बाट प्राप्त आयबाट हुने गर्दथ्यो । २०१८–१९ मा ह्यारी–मेगान अनि विलियम–केटले सार्वजनिक जिम्मेवारीहरु निभाएवापत् र अन्य व्यक्तिगत कारणवश ५० लाख पाउन्ड भन्दा केही बढी खर्च भएको तथ्यांक छ । त्यसबाहेक करदाताहरुको सार्वभौमिक अनुदानबाट पनि उनीहरुले ५ प्रतिशत आम्दानी गर्ने गरेका थिए ।

सो अनुदान बेलायती सरकारले राजपरिवारलाई दिने गर्दछ जसमार्फत राजपरिवारका सदस्यले आधिकारिक जिम्मेवारी पूरा गर्छन् र दरबारको ख्याल राख्छन् । यो वित्तीय वर्षमा सो रकम ८ करोड ५९ लाख पाउन्ड रहेको थियो । यसअघि सेप्टेम्बरमा ह्यारी र मेगानले विन्डसोर स्थित ‘फ्रगमोर कटेज’ को आफ्नो घर मर्मतमा खर्च भएको २४ लाख पाउन्ड फिर्ता गरिसकेको बताएका थिए जुन पहिले बेलायती करदाताहरुबाट आएको रकम थियो । बीबीसीबाट


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु