एमाले मिलाउन वामदेवको सक्रियता
चैत १, काठमाडौं । नेकपा (एमाले) का नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग छलफल गर्ने भएका छन् ।
सो अभियानको शनिबार बसेको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय भएको अभियानका सचिव बाबुराम थापाले जानकारी दिए ।
अध्यक्ष ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेपछि नेपाल पक्षका नेताहरु असन्तुष्ट भएकाबेला अभियानका संयोजक गौतमले आफ्नो सक्रियता देखाउने भएका हुन् ।
नेता गौतमले अध्यक्ष ओली र नेता नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णयमा पुगेको सचिव थापाले जानकारी दिए ।
शुक्रबारको बालुवाटार बैठकको निर्णयपछि नेता नेपाल पक्षले शनिबार पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ। सो पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ।