२४ श्रावण २०७९, मंगलवार

ओली पक्षको निर्णयपछि माधव पक्षले बोलायो राष्ट्रिय भेला, आज केन्द्रीय समितिको बैठक



फागनु २९, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले पार्टीको राष्ट्रिय भेला बोलाएको छ।

त्यसमा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने नेता घनश्याम भुसालले जानकारी दिए ।
‘केपी ओलीले विघटन गर्नुभयो, हामी पुनर्गठन गर्छौं,’ उनले भने।

ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो।

सो बैठकले आज शनिबार केन्द्रीय सदस्यहरुको बैठक राखेको छ।

महाधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशनले गर्ने महत्वपूर्ण निर्णयहरु त्यसअघि नै गर्नुपरेमा राष्ट्रिय भेलाको आयोजना गरिन्छ।

प्रधानमन्त्री ओलीले आफू पक्षमा रहेका सांसदहरुविरुद्ध पनि केही कदम चाले के गर्ने भन्ने बारेमा पनि नेपाल पक्षले छलफल सुरु गरिसकेको छ।

सांसदहरुमध्ये प्रत्यक्ष निर्वाचितलाई कारवाही गरे पनि उनीहरु स्वतन्त्र सांसदको हैसियतमा संसदमा रहिरहन सक्छन्। तर, आफ्नो पक्षका समानुपातिक सांसदलाई ओलीले हटाउन खोजे सामूहिक राजीनामा दिने समेत तयारी भएको स्रोतले जनाएको छ।

बालुवाटारनिकट एक नेताका अनुसार अध्यक्ष ओलीले केहि नेताहरुलाई आफूले माधव नेपालबिना नै पार्टी चलाउने संकेत गरेका थिए। उनले शुक्रबार त्यस्तै कदम चालेका छन्।

वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत उनीहरु पक्षका कुनै पनि नेताहरुलाई जानकारी नदिई राखिएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकबाट उनले २३ जना माओवादी नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

शुक्रबार नै त्यसलगत्तै बसेको पूर्वमाओवादी नेतासहितको बैठकबाट नेपाल–खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसिएको हो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको