प्रचण्ड भन्छन् : ‘नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटे’ !
२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको बताएका छन् ।
पुराना साथीहरूसँग पनि जोडिने र जनताका बीचमा पनि बस्न चाहेको भन्दै प्रचण्डले अब काठमाडौं बाहिर बस्ने सोच बनाएको बताएका छन् ।
बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफु यत्तिकै नसेलाउने बरू फेरि देशव्यापी अभियान चलाउने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेको बताउदै उनले भने, ‘राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेका छन् । राजनीतिक परिर्वतनमाथि हमला भइरहेको छ । फेरि आफ्नै खुट्टामा उभिने र पुराना साथीलाई एकतावद्ध गर्दै क्रान्तिकारीहरूमाथि नै भर पर्छौं ।’
उनले अझै जनताले जित्न बाँकी ने रहेकाले कोर्स करेक्सन गरेर प्रतिक्रियावादीहरूसँग लड्ने उद्घोष समेत गरेका छन् । उनेल भेनका छन्, ‘म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ । एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु । लड्नेवाला छु, म छोड्नेवाला छैन । अझै दुई चार व्याटल जित्न बाँकी छ ।’
सर्वोच्च अदालतले यहि फागुन २३ गते नेकपा नाममा गरिएको पार्टी एकिकरण बैधानिक नभएको भन्दै खारेज गर्ने फैसला सुनाएपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन् । अब नेपाली कम्युनिष्ट राजनीति पुनः नयाँ शिराबाट अगाडि बढ्ने निश्चित भएको छ ।