६ आश्विन २०७८, बुधबार

पर्सामा ९० करोड लागतमा फलामजन्य उद्योग सञ्चालन गरिँदै



फागुन २७, काठमाडाैं । पर्सा जिल्लामा ९० करोड रुपैयाँको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना हुने भएको छ । यसका लागि मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ ।

उद्योगका अनुसार अब १० प्रतिशत काम मात्र बाँकी छ । गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इन्डस्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने उद्योगका पदाधिकारीले जनाएका छन् । पर्साको वीरगन्ज–पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा उद्योग स्थापना गरिएको हो ।

गोल्छा समूहका शरद गोल्छाको लगानीमा निर्माण भइरहेको सो उद्योगबाट वार्षिक ८० हजार टन फलामजन्य सामग्री उत्पादन हुने लक्ष्य राखिएको छ । उद्योग सञ्चालनपश्चात् त्यस उद्योगबाट पाइप, जस्तापाता, वायर र बोल्डर उत्पादन हुने बताइएको छ ।

१८ बिघा जमिन क्षेत्रफलमा निर्माण भइरहेको उक्त उद्योग ३ वर्षअगाडिदेखि निर्माण भइरहेको हो । गत वर्ष नै निर्माणसम्पन्न गरी सञ्चालन गर्ने योजना रहे पनि कोरोना महामारीका कारण उद्योग निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको थियो ।

निर्माण ढिलाइका कारण उद्योग निर्माणको लागत पनि बढ्ने अनुमान रहेको व्यवस्थापन पक्षका पदाधिकारीले बताएका छन् ।

उद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०र५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् । उद्योगका अनुसार त्यहाँ आधुनिक प्रविधिको प्रयोगबाट फलामजन्य सामग्री उत्पादन हुनेछ । वीरगन्ज –पोखरिया क्षेत्रमा सञ्चालित उद्योगमध्ये सबैभन्दा ठूलो लगानीको उद्योग रहेको र यसको सञ्चालनबाट उद्योगले करिब १ हजार व्यक्तिलाई रोजगारी दिने बताइएको छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शशिभूषणकुमार यादवले बारा र पर्सा जिल्लामा ठूला तथा साना उद्योग थपिँदै गएको उल्लेख गर्दै उद्योगले गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको