२८ बैशाख २०७८, मंगलवार

चन्द्रमाका खाडललाई धर्तीका मानिसको नाम



फागुन २७, काठमाडाैं । चन्द्रमामा क्रेटर भनिने हजारौँ ठूला खाडल छन् । १,५७७ वटा खाडलको नामकरण प्रतिष्ठित वैज्ञानिक, इन्जिनियर र अन्वेषकको नामबाट गरिएको छ। तर तीमध्ये ३१ वटाले मात्रै वास्तविक महिलालाई सम्मान गर्ने लक्ष्य लिएको जनाइएको छ। केही नाम ईश्वर र मिथकीय जीवहरूबाट लिइएका छन्।

प्लेटो, गालिलियो र सर आइज्याक न्युटनजस्ता नाम क्रेटरहरूलाई दिइएको छ। पृथ्वीबाट देखिने भनिएको एउटा क्रेटरले चर्चित संगीतकार जोन लेननको नाम पाएको छ। दुई प्रतिशत क्रेटरले मात्र महिला वैज्ञानिकको नाम पाएका छन्।

लगभग सबै ‘महिला’ क्रेटरहरू चन्द्रमाको टाढाको क्षेत्रमा छन् जुन पृथ्वीबाट देख्न सकिँदैन। चन्द्रमामा आफ्नो नाममा क्रेटर रहेकी एक मात्र जीवित अन्तरिक्ष यात्री रुसकी भ्यालेन्टिना टेरेसकोभा हुन्। सन् १९६३ मा उनी अन्तरिक्षमा पुग्ने पहिलो महिला बनेकी थिइन्। अन्तरिक्षमा पुग्ने पहिलो भारतीय मूलकी महिला कल्पना चावलाको नाममा पनि क्रेटर रहेको छ।

इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले सन् १९१९ देखि नै खोगलशास्त्रीय वस्तुहरूको नामलाई अनुमोदन गर्ने जिम्मा पाएको छ। अमेरिकी एस्ट्रोनोमिकल सोसाइटीकी अध्यक्ष मेगन डोनाह्युका अनुसार कतिपय नामको इतिहास गालिलियो गालीलेले आफ्नो टेलिस्कोपमार्फत सन् १६१० मा देखेका दृश्यका आधारमा बनाएका खगोल विशेषताहरूको चित्रहरूसम्म पुग्छ।

‘सन् १६५१ मा इट्लीका खगोलशास्त्री जियोभानी रिचिओलीले पहिलो पटक चन्द्रमाका विशेषताहरूको नामकरण गर्न थालेका थिए,’ हाल अस्ट्रेलियन एस्ट्रोनोमिकल अप्टिक्सकी वरिष्ठ प्राध्यापक रहेकी पाकिस्तानी खगोलशास्त्री डाक्टर तैयबा जाफर भन्छिन्। ‘रिचिओली आफ्नै नाममा क्रेटरको नामकरण गर्न सके। तर उनले मानिसको नामका आधारमा नामकरण गरेका १४७ क्रेटरमध्ये दुईवटा मात्रै महिलाको नाममा छन्। तीमध्ये हाइपेसिया वास्तविक थिइन्। तर सेन्ट क्याथ्रिन अफ एलेक्जेन्ड्रिया वास्तविक नहुन पनि सक्छिन्,’ प्राध्यापक डोनाह्यू भन्छिन्।

प्लेटो र न्युटनका नाममा पनि क्रेटर छन्। डाक्टर जाफरका अनुसार त्यपछाडिका शताब्दीमा महिलाहरू औपचारिक शिक्षा र तालिमको अभाव देखिएकाले पुरुष वैज्ञानिक र ऐतिहासिक व्यक्तित्वको सम्मानमा नै धेरै क्रेटरहरूको नामकरण गरिएको थियो। संयुक्त राज्य अमेरिका र सोभियत संघबीच सन् १९५० को दशकको अन्त्यदेखि सन् १९७० को दशकको सुरुवातमा कुन देश चन्द्रमा पहिला पुग्ने प्रतिस्पर्धा चलेको थियो।

चन्द्रमाका विशेषताहरूको नाम कसरी गर्ने भन्नेबारे भद्रगोलजस्तै थियो। ‘त्यही भएर सन् १९७३ मा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले यसलाई व्यवस्थित बनाउन एउटा समिति गठन गरेको थियो,’ खगोलशास्त्री रिता सुल्ज भन्छिन्। उनका अनुसार वैज्ञानिक आवश्यकता भएमात्रै त्यसरी नामकरण गर्ने निर्णय त्यस बेला गरिएको थियो । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले चन्द्रमामा राखिने नाम पुरूषको नामका आधारमा र शुक्रमा महिलाको नामका आधारमा नामकरण गरिने निर्णय गरेको पनि डाक्टर शुल्ज बताउँछिन्। उक्त निर्णय अहिले कार्यान्वयनमा नरहे पनि नामकरणको असमानता कायमै छ।

पछिल्लो ३० वर्षमा जम्मा सातवटा क्रेटरको नामकरण महिलाको नामका आधारमा गरिएको छ। खगोलशास्त्री जियोभानी रिचिओलीले मानिसको नामका आधारमा नामकरण गरेका १४७ क्रेटरमध्ये एउटा मात्र वास्तविक महिलाको नाम भएको ठानिन्छ । डाक्टर जाफर भन्छिन्, ‘इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन गठन हुँदा दुई प्रतिशतभन्दा कम क्रेटरको नामकरण महिलाको नामका आधारमा थियो। एक शताब्दीपछाडि उक्त आँकडामा उस्तै छ।’

२५ वर्षमा पहिलोपटक ग्रह पत्ता लगाएकी र ३१ वर्षकै उमेरमा चारवटा ग्रह पत्ता लगाइसकेकी चिलेकी खगोलशास्त्री मारित्जा सोतो भासकिज भन्छिन्, ‘यदि हामी थप महिलाहरू विज्ञानमा संलग्न हुन भन्ने चाहन्छौँ, उपस्थिति एकदमै महत्त्वपूर्ण छ। किशोरीहरूले उनीहरू के अध्ययन गर्न चाहन्छन् भनेर सोच्दा उनीहरूले आफूजस्तै देखिने प्रेरक व्यक्तित्व देख्न पाउनुपर्छ।’

ताइवान नेसनल स्पेस अर्गनाइजेसनकी डाक्टर विकी चूले आफूले चन्द्रमाको सतहमा थप महिलाहरू देख्न चाहेको बताइन्। उनी भन्छिन्, ‘विशेष गरी माध्यमिक र विश्वविद्यालय तहका विद्यार्थीहरूका लागि यसले मद्दत गर्छ। स्वीकार गर्नु र सम्मान गर्नुले सकारात्मक प्रभाव पार्छ ।’

अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२४ मा पुनः चन्द्रयान पठाउने र त्यसमा यसपटक एक महिला र एक पुरुषलाई सहभागी गराइने बताइएको छ। यसअघि सन् १९७२ मा पहिलो पटक मानव सहितको अन्तरिक्षयान चन्द्रमामा अवतरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु