२० श्रावण २०७८, बुधबार

सपनालाई धम्की दिने विनयजंग ५० हजार धरौटीमा रीहा



२६ फागुन, काठमाडौ । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर कारागारबाट छुटेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि बस्नेत छुटेका हुन् ।

प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान सकेर मंगलबार मात्रै रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिबेदनमा बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरीवाना र पाँच वर्षसम्म जरीवाना वा दुबै सजाय र अभद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको थियो ।

प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट बस्नेतलाई पक्राउ गरी उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।

बस्नेतले आफुसँग पेनड्राइभमा सपना रोका मगरका नांगा तस्बिरहरू रहेको र परिआए सार्वजनिक गरिदिने भन्दै युट्युबमार्फत् धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो ।

अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो । ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसारका प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । त्यही क्रममा उनीहरूबीच तिक्तता बढेपछि गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन् ।

गत माघ १९ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट आफ्नै नामको संस्था ‘सपनाको चाहना : समृद्ध नेपाल’ पनि उनले दर्ता गराइसकेकी छन् । उनले त्यहि संस्थामार्फत् मानवीय सेवालाई निरन्तरता दिने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु