१ आश्विन २०८०, सोमबार

लुम्बिनी प्रदेशमा नगर विकास कोषको कार्यशाला गोष्ठी



२६ फागुन, रुपन्देही । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठी रुपन्देही सुरु भएको छ । लुम्बिनी प्रदेश भरिका नगरपालिका प्रमुख उपप्रमुख योजना अधिकृत र ईन्जीनियर सहभागी गोष्ठीको लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ शाहले उद्घाटन गरे ।

उपस्थित प्रदेशभरिका मेयरहरूलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शाहले कोषले लुम्बिनी प्रदेशका नगरपालिकामा विशेष प्राथमिकता दिएर लगानी गर्नुपर्ने बताए । नगरको विकास भनेको शहरको विकास भएकोले सबैको ध्यान जानु जरुरी रहेको प्रदेश प्रमुख शाहले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले आत्मनिर्भर अर्थतन्त्र बनाउन पालिकाहरूलाई बलियो बनाउनु पर्ने बताए । उनले जनप्रतिनिधिहरूलाई कार्यकारीहरुले समयमा सुचना नदिदा राष्ट्रिय योजना आयोग र नगरपालिका बिच समन्यमा समस्या आएको बताए । डा. कडेलले भने ‘योजना ४० करोडको तर बजेट विनीयोजन भने ४० लाख गर्ने, यो लगानीको सदुपयोग होकी दुरपयोग ? नगरपालिकाका प्रमुख कार्यकारी, योजना अधिकृत र ईन्जिनियरहरू हचुवाको भरमा काम नगर्नुहोला ।’

संघीय मामिला तथा समान्य विकास मन्त्रालयका सहसचिब बिष्णु दत्त्त गौतम र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले आगामी ४ वर्षभित्र सबै नगरपालिकासँग सहकार्य गर्ने कोषको रणनीति रहेको बताए । पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने सापकोटाले बताए ।

कार्यकारी निर्देशक सापकोटाले भने, ‘स्थानीय सरकारले अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रूपमै स्पष्ट हुनुपर्ने आवश्यकता छ ।’

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले नहिच्किचाइकन ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरूलाई आग्रह गरे । उनले बाहिरी मुलुकका उदाहरण दिँदै आँट गरेर आन्तरिक स्रोत वृद्धि गर्ने खाले आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न नगरपालिका प्रमुखहरुलाई आग्रह गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले ठुला–ठुला योजना अघि बढाउन आर्थिक लगानी कम भएको बताउदै ऋण लगानी आवश्यक रहेको बताए । उनले नगरका ठुला योजना बनाउनका लागी डिपीआर तयार भइरहेको र तिलोत्तमालाई नमुना नगरपालिकाको रुपमा लैजाने तयारीका साथ काम अघि बढेको बताए ।

बुटबल उपमहानगरपालिका प्रमुख तथा नगर विकास कोष सञ्चालन समितिका सदस्य शिवराज सुबेदीले नगर विकाससँग पालिकाहरूको सहकार्यका लागि नियामवली संशोधनको तयारी भइरहेको बताए । उनले नगर विकास कोषको प्रगति राम्रो भइरहेको बताउदै पालिकासँग सहकार्य गरेर अघि बढ्ने वचनवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको