२० श्रावण २०७८, बुधबार

कक्षा १२ को प्रश्नपत्र इमेलबाट पठाइने



फागुन २६, काठमाडौं । परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने बोर्डले निर्णय गरेको हो ।

बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को भने प्रश्नपत्र छपाइ गरी केन्द्रमा पठाउने निर्णय गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षामा प्रविधिको उच्चतम प्रयोग हुने र प्रश्नपत्र आउटसमेत नहुने भएकाले अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय भएको बताए । इन्टरनेट र इमेलको सुविधा भएको ठाउँमा कक्षा १२ को परीक्षा केन्द्र राख्ने गरी सिफारिसका लागि आग्रह गरेको उनले बताए ।

हिमाली जिल्लाका सदरमुकाममा इन्टरनेटको सुविधा भएकाले अहिले सो क्षेत्रमा समेत अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय भएको छ । ‘हिमाली क्षेत्रमा सबै विद्यालयमा इन्टरनेटको सुविधा नहुन सक्छ, तर सदरमुकाममा सुविधा छ, त्यही केन्द्र कायम हुन्छ,’ उनले भने । प्रश्नपत्र छपाइ नगर्दा करिब तीन करोड रुपैयाँ बचतसमेत हुने विश्लेषण छ ।

अघिल्लो वर्ष कोभिड–१९ को जोखिमका कारण आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरेको थियो । हिमाली र इन्टरनेटको सुविधा नभएको ठाउँमा बोर्डले प्रश्नपत्र छपाइ गरेर पठाएको थियो ।

यस वर्ष भने कक्षा १२ को प्रश्नपत्र नै छपाइ नगर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अघिल्लोपटक अनलाइनबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन कार्य सफल भएकाले अब सबै केन्द्रमा इमेलमार्फत प्रश्न पठाएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु