४ कार्तिक २०७७, मंगलवार

मोवाइल असिमित मानवीय सम्भावनामा ह्रास ल्याउने कारक बन्नसक्छ


जोसेफ शाही
२२ श्रावण २०७७, बिहीबार

नेपाल टेलिकमले २०–२१ वर्ष अघि अर्थात् २०५६ सालदेखि सर्वसाधारणलाई पोस्टपेड र २०६० देखि प्रिपेड सिमकार्ड वितरण गर्न थालेपछि मोवाइल सेवामा नेपालीको पहुँच विकास भएको देखिन्छ । त्यतिखेर काठमाडौं लगायतका विकसित शहरमा बस्ने हुँदा खाने भन्दा पनि हुने खानेहरूबिच मोबाइलको पहुँच पुग्यो । २०६२ सालपछि भने तत्कालिन मेरो मोबाइल अर्थात् अहिलेको एनसेलले नेपाल टेलिकमसँग प्रतिष्पर्धा गर्दै मोवाइल सेवा सुचारु गरेपश्चात् भने सर्वसाधारणको पनि पहुँचमा पुग्यो मोवाइल सेवा ।

नेपाल दुरसञ्चार नियमक निकायले गरेको एक अध्ययनले नेपालमा मोवाइल प्रयोगकर्ताको सङ्ख्या जम्मा जनसङ्ख्या भन्दा ३४ प्रतिशत बढी रहेको उल्लेख गरेको छ । पछिल्लो जनगणना पछि नेपालको जनसङ्ख्या अनुमानित ३ करोड ३० लाख पुगेको छ । जवकि सिडीएमए प्रयोगकर्ता २६ लाख र मोवाइल प्रयोगकर्ताको सङ्ख्या ३ करोड ८० लाख सहित नेपालमा टेलिफोन सेवा लिने सङ्ख्या ४ करोड ६ लाख पुग्दा सहजै अनुमान लगाउन सकिन्छ कि मोबाइल पहुँच कति तिव्र गतिमा बिस्तार भइरहेको छ ।

माथि उल्लिखित ३ करोड ८० लाख मोबाइल प्रयोगकर्ता मध्यको म एक, हातमा मोबाइल खेलाउँदै गर्दा प्रविधिले मानव जीवन सहज बन्ने र दास बन्ने क्रम सँगसँगै अघि बढिरहेको त छैन ? भन्ने प्रश्न बेलाबेलामा मानसपटलमा तेस्र्याउछु ।

आजभन्दा १६–१७ वर्षअघि गाउँमा सीडीएमए फोनमा बोल्दा डरले मुटुको धड्कन बढ्थ्यो, खुट्टा थरथरी काप्थे । फोनमा आफ्ना मान्छेको आवाज सुन्दा आफ्नै वरीपरी बोलेजस्तो लाग्थ्यो । प्रविधिले पछिल्लो एक डेड दशक यता यसरी छलाङ मार्यो कि आज मेरो आफ्नै छोरालाई मोबाइल नदेखाई जाउलो खुवाउन हम्मे हम्मे पर्छ । पहिला हामी ढुङ्गा माटोसँग खेलेर दिन विताई दिन्थ्यौं । अहिलेका केटाकेटी मोवाइलमा पब्जी, फ्रि फाएर खेलेर दिन रात दुवै कटाइदिन्छन् । केटाकेटी मात्रै होइन हामी प्रोढलाई पनि एकछिन मोवाइल नभेटिदा आफै कता हराएजस्तो अनुभूती हुन्छ ।

साथीहरूसँग चिया गफ हुँदै गर्दा एउटा कथन सुनेको थिए । दुइजना मिल्ने साथीहरूको लामो समय पछि भेट भएछ एउटा चिया पसलमा । दुबै जनाको हातमा मोबाइल थियो । टेबलमा अर्डर गरिएको चिया सेलाइसक्दा पनि उनीहरू मोबाइलमै एकोहोरो घोरिरहेका थिए । अन्त्यमा चिया पनि नखाएर बाँकी कुरा फेसबुकमै गरौंला है भन्दै बर्षौंपछि भेटिएका साथीहरू छुट्टिए छन् । मलाई यस्तो भान भयो कि मोबाइल भेट्टिए पछि मान्छेहरू छुट्टिदै गएछन् ।

यो कथनमा भनिए जस्तै ठ्याक्कै प्रविधिको दास नै त हामी भइसकेका छैनौं । तर प्रविधिको अनावश्यक प्रयोगले मान्छेले मान्छेलाई गर्नुपर्ने प्राकृतिक व्यवहार भने धुमील भइरहेको छ । अचेल चाहे आफन्त चाहे साथीभाई जसलाई भेटेपनि मोवाइलको सहभागिता बिनाको भेटघाट असम्भव प्राय भइसक्यो । आँखा मोबाइलमा हेरेर मुसुमुुसु मुस्कुराउदै छेउमै बसीरहेको मसँग कुरा गरिराख्ने साथी र अग्रजहरू पनि धेरै छन् । अनि म पनि के कम गोजीको मोबाइल झिकेर १० मिनेट जति फेसबुक चलाइदिन्छु । अनि उहाँको ध्यान मतिर केन्द्रित भयो भने मेरो ध्यान पनि उहाँतिर एकत्रित पारेर कुरा गर्न थाल्छु ।

यसकारण लाग्छ मान्छे बीचको आत्मीयता कतै मोवाइल फोनले कमजोर बनाइरहेको त छैन ? यसो भन्दै गर्दा मनमा सवाल उठ्नसक्छ फोनले कोसौं टाढा भएकाहरूलाई नजिक बनाइदिएको पनि त छ नि ! मलाई त लाग्छ मोवाइलले भुगोलको मानचित्रमा धैरै टाढा भएकाहरूलाई नजिक बनाई दिएपनि नजिक भएकाहरूलाई भने टाढा बनाउदैछ । सबै कुरा मोबाइलमै भेटिने जमानामा प्रविधिको दुष्प्रयोगले संसार हेर्ने आँखा, असम्भवलाई सम्भव बनाइदिने मस्तिष्क र असिमीत मानवीय सम्भावनालाई कमजोर बनाइदिएको छ ।

अहिले विश्वमा चलिरहेको समय यति कठिन छ कि जुन अवस्थाबाट उन्मुक्ति दिने मुख्य अस्त्र नै विज्ञान र प्रविधि हो । वैज्ञानिकहरू कोरोना भ्याक्सिन आविस्कार गर्न अहोरात्र खटिरहेका छन् । कोराना महामारीबाट सुरक्षा अपनाउने कुनै एउटा महत्वपूर्ण उपाय अमेरिकामा पत्ता लाग्ने वित्तिकै त्यो हाम्रो मोवाइलको स्क्रिनमा तुरुन्तै आइपुग्छ । हामी जुनसकै रुची, पेशा व्यवसायका मान्छेलाई अब्बल बनाउन सहयोग गर्ने हजारौ सूचना, विचार र अभ्यासहरू यही सानो मोवाइल भित्रै भेटिन्छन् । ती भविष्य बनाइदिने सूचनाहरू ग्रहण गर्नुको साटो मोवाइलका कृतिम खेलहरू पब्जी, फ्रि फाएर, क्याण्डी क्रस जितें भनेर हुर्रे भनिराख्ने हो भने जिन्दगीको खेल कहिले जित्ने ? कसरी जित्ने ?

अमेरिकी कुटनितीज्ञ हेनरी किसिन्जरले भनेका छन्, ‘प्रविधिको विकासले सूचनाको बाढी त आयो तर मान्छेको ध्यानलाई विकेन्द्रित गरिदिएको छ ।’ त्यही प्रविधिको उपज हाम्रो हातमा भएको मोवाइलबाट आवश्यक सुचना लिएर आफ्नो ध्यानलाई निश्चित उद्देश्य प्राप्तिमा केन्द्रित गर्न सक्यौं भने सफलता हात पार्न यो जमाना निकै सजिलो छ । तर मोवाइलका विभिन्न एप्लीकेसनमा बगेका सूचनाका बाढीमा रमाएर अमुल्य समयको सत्यानाश गरिराख्ने हो भने अन्ततः मान्छे प्रविधिको दास नबन्ला भन्न सकिन्न ।

मैले मोवाइल चलाउन थालेको अहिले हिसाब गर्दा १२–१३ वर्ष भयो होला । त्यो भन्दा अघि मोबाइल नहुँदा पनि जिवन चलेकै थियो । अहिले हातमा एकछिन मोबाइल नहुँदा शरीरमा कुनै अङ्गको कमी भएको जस्तो महशुस गर्ने कसरी भयौं हामी ? मोबाइलका लागि मान्छे जन्मेको होइन मान्छेको सहजताका लागि मान्छेले नै मोबाइलको आविस्कार गरेकाले हाम्रो आवश्यकता अनुसार यसको प्रयोग गर्न सक्नुपर्छ । होइन भने भोली प्रविधिको दास बनेर मान्छे हुन नसकेको पश्चातापले गाँजिरहनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु