४ आश्विन २०८०, बिहीबार

हुम्लामा चौथो पटक हिमपात, किसानहरू खुशी



कर्णबहादुर रोकाया

२४ फागुन, हुम्ला । हुम्लामा चौथो पटक हिमपात हुँदा किसानहरू खुशी भएका छन् । लामो समय हिमपात र वर्षा नहुँदा अब भोकमरी हुने भो भनेर सर्बत्र चिन्ता बढ्दै गएका बेला फेरी हिमपात भएपछि हुम्ली किसानहरू खुशी भएका हुन् ।

हिउँदभरी तीन पटक हिमपात हुँदा पनि धेरै हिउँ नपर्दा यो वर्ष बालीनाली, वनजंगल र पानीका स्रोत सुक्दै गएका थिए । फागुन महिनाभरी गाउँघर वरपरका पाखापखेरा र वनजंगलमा आगलागी भएर बाक्लो धुँवा र धुलो भएकाले पनि विभिन्न प्रकारका रोगहरू लाग्ने चिन्ता बढेको अवस्थामा फागुन २४ गते भएको हिमपातले केही राहत दिने सिमकोट वडा नम्बर २ का धन बोहराले बताए ।

यो हिउँदमा धेरै हिमपात नभएका कारण खेतीबालीका लागि चाहिने पानीको मात्रा नपुगेर गाउँ–गाउँमा जौ, गहुँ र उवा सुक्दै गएको अवस्थामा चौथो पटकको हिमपातले केही आशा जगाएको छ ।

माथिल्लो हुम्लामा एक फिट जति पर्दै गरेको छ भने बीच भागमा केही इन्च हिउँ परिरहेको छ र तल्लो भागमा पानी पर्दै गरेको छ । फागुन चैत्रको समयलाई हुम्लामा खेतीका लागि तयारी समय मानिने हुनाले यसलाई हिउँ हैन कि घीउ मान्नु पर्ने सिमकोट वडा नम्बर ८ स्याँडाका रुप बहादुर बुढाको भनाई छ ।

चौथो हिमपातले खेतीपातीका लागि राम्रो हुने भएकाले किसानहरु खुशी भएका छन् । अझ धेरै हिमपात हुने आशा गरिएको छ । यसबाट वातावरण सफाई तथा कृषि कर्मका लागि सहज हुने संकेत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको