आज संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव सामना गर्ने रणनीतिमा ओली
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढङ्गले गत पुस ५ मा संसद विघटन गरेपछि अनिश्चित बनेको प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारदेखि शुुरु हुुँदैछ ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएपछि तोकिएको समयमा संसद बैठक आज अपराह्न चार बजे बस्न लागेको हो ।
ओलीको पुस ५ को अप्रत्यासित कदमपछि राजनीतिक रूवमा विभाजित भइसकेको नेकपा औपचारिक रुपमा विभाजित भइसकेको छैन । दुवै पक्षले निर्वाचन आयोग समक्ष आफु नेतृत्वको नेकपा आधिकारिक भएको दाबि प्रस्तुत गरिसकेका छन् । यद्धपि निर्वाचन आयोगले पुरानो केन्द्रीय कमिटीलाई मान्यता दिइने बर्तापनि हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरिसकेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् । ओली पक्षको संसदीय दलको बैठकले पनि यहि निष्कर्ष निकालेको थियो ।
यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने छ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ ।
विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरू गरी १४ जनाको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ । संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्थाप परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।