मार्क्सवादको घण्टी बजाइराख्ने तर परिवर्तनको सिद्धान्तलाई आत्मसाथ नगर्नेबाट समृद्धि सम्भव छैन : माधव नेपाल
२२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय कम्युनिष्ट नेतृ रोजा लक्जमवर्गको १५१ औँ जन्मजयन्तीको अवसरमा राजधानीमा ‘संसद, लोकतन्त्र र समाजवाद’ विषयक गम्भिर बहस आयोजना गरिएको छ ।
नेकपाको संसद विवाद सडकबाट फेरी सदन पुगिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा फाउण्डेशन फर क्रिटिकल डिस्कोर्स (एफ.सी.डी) ले अन्तरक्रियात्मक बहसको आयोजना गरेको हो ।
शनिबार बानेश्वरको अल्फाबिटा हलमा आयोजित बहसलाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै नेकपा अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादलाई सम्भव बनाउने हो भने रोजा लक्जमवर्गको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताए । कम्युनिष्ट नेता स्टालिनसँग रोजाको ठूलो अन्तरविरोध रहेको औंल्याउदै अध्यक्ष नेपालले भने, ‘रोजा युद्धविरोधी क्रान्तिकारी समाजवादी नेतृ हुनुहुन्थ्यो, श्रमजिवि वर्गको प्रख्यात अन्तरर्राष्ट्रिय नेता हुनुहुन्थ्यो ।’
कार्लमार्क्सले जनताले बुझ्ने भाषामा उनीहरूको चेतनाको विकास गर्नुपर्छ, जनतालाई सँगै लिएर अगाडिको यात्रा तय गर्नुपर्छ भनेझै रोजाले पनि केन्द्रिकृत शासन प्रणालीको विरोध गर्ने गरेको नेपालले स्पष्ट पारे । उनले मार्क्सवादको घण्टी बजाइरहने तर परिवर्तनको सिद्धान्तलाई आत्मसाथ नगर्नेहरूबाट कम्युनिष्ट आन्दोलन सफल नुहुने जिकिर गरे ।
त्यस्तै कार्यक्रमको अध्यक्षता गरेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले रोजा अन्तराष्ट्रिय महिला आन्दोलनको अभियन्ता, योद्धा मात्रै नभएर समग्र समाजवादी आन्दोलनको नेतृत्वदायी महिला नेतृ भएको बताइन् । उनले भनिन्, ‘रोजाले लेनिनसँग जनवादी केन्द्रीयताका सन्दर्भमा राख्नुभएको फरक धारणालाई अपव्याख्या गरेर उहाँलाई कम्युनिष्ट नै हैन जसरी हेरियो । तर उहाँ हरेक विषयवस्तुमा आलोचनात्मक विचार राख्न सक्ने बौद्धिक कम्युनिष्ट नेतृ हुनुहुन्थ्यो ।’
‘संसद, लोकतन्त्र र समाजवाद’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुति गर्दै आयोजक संस्था एफसीडीका अध्यक्ष डा. खगेन्द्र प्रसाईँले दुनियाँमा थुप्रै असाधारण समाजवादी, बौद्धिक चिन्तक र विचारकहरूलाई भुलिएको प्रसङ्ग कोट्याउदै रोजा लक्जमवर्गलाई पनि भुलिएको दृष्टान्त पेश गरे । उनले भने, ‘लेनिनले जितेको हुनाले उनलाई सम्झिए तर रोजाले हारेको हुनाले बिर्सिए ।’
उनले लेनिनको ‘ह्वाट इज टू बि डन’ पुस्तकमा कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी, अध्यक्ष र महासचिवलाई धर्मले इश्वरलाई शक्ति दिएजस्तै असाधारण शक्ति दिनुपर्छ भनिएको बताए । त्यहि देवत्वकरण गर्ने लेनिनको केन्द्रीयताको सिद्धान्तलाई अस्विकार गर्दा रोजालाई अल्पमतमा पारिएको बताउदै प्रसाईँले भने, ‘लेनिनवादी केन्द्रीयताको सिद्धान्तले समाजवाद सम्भव छैन । केन्द्रियतावादले अन्तत अधिनायकवादमै पुर्याउछ ।’
कार्यपत्र प्रस्तोता प्रसाईँले पुँजीवाद श्रेष्ठ विचार नभएको तर वर्तमान दुनियाँमा पँुजिवादले नै अधिपत्य जमाएको बताए । उनले भने, ‘संसदीय व्यवस्था न्युट्रल व्यवस्था हो, पुँजिवादी व्यवस्था होइन । तर पुँजिपतिको संख्या उल्लेख्य देखिएकाले पुँजिवादी व्यवस्था जस्तो देखियो र त्यस्तै भइरहेको छ ।’
विषयवस्तुमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेकपा स्थायी कमिटी सदस्य तथा मार्क्सवादी अर्थशास्त्री डा. विजय पौडेलले रोजा लक्जमवर्गलाई १५ जनवरी सन १९०० मा टाउकोमा गोली हानेर, शरिरलाई टुक्रा–टुक्रा पारेर निर्मम हत्या गरिएको तितो यथार्थ सुनाए ।
डा. पौडेलले कम्युनिष्ट उम्मेदवारले पैसाको प्रयोग गरेर चुनाव जित्यो भने अन्तत ऊ पनि वुर्जुवा उम्मेदवार बन्ने दावि गरे । उनले भने, ‘पैसाले संसदीय व्यवस्थालाई बन्धक बनाएको छ । शान्तिपूर्ण सङ्घर्षबाट समाजवाद ल्याउन चाहनेलाई चुनौति थपिएको छ ।’ उनले विचारलाई त्यतिबेलाको भौतिक परिस्थितिको आधारमा मुल्याङ्कन गरिनुपर्ने सुझाव दिए । ‘मार्क्सलाई उनको जन्मजयन्तीमा देवत्वकरण गर्ने र रोजालाई रोजाकै जन्मजयन्तीमा देवत्वकरण गर्ने सोचबाट हामी मुक्त हुनु जरूरी छ ।’ उनले भने ।
बहसका वक्ता तथा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेता सिपी गजुरेलले रोजाले समाजवादलाई केवल राष्ट्रिय घेरामा सिमित पार्नु हुन्न भन्ने बृहत्तर धारणा राखेको बताए । उनले भने, ‘रोजाको राष्ट्रिय विषयमा टिप्पणी थियो । उनको सोचाई र बुझाई अन्तर्राष्ट्रिय थियो ।’
रोजाले लेनिनका विचारमा आलोचनात्मक टिप्पणी गरेजस्तै हामीले पनि कतै हाम्रो व्यवस्थामै समस्या छ कि भनेर वहस गर्नुपर्ने, र आवश्यकताको आधारमा विकल्प समेत खोज्नुपर्ने नेता गजुरेलले बताए ।
त्यस्तै विषयवस्तुमाथि कार्यपत्र प्रस्तुत गर्दै नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालले रोजा लक्जमवर्ग क्रान्तिकारी योद्धा मात्रै नभएर महान विचारक भएको प्रष्ट पारे । कार्लमार्क्सले लोकतन्त्र सबै विचारको अन्तरवस्तु हो भनेझै रोजाले पनि लोकतन्त्रबिनाको समाजवाद सम्भव नभएको धारणा अघि सारेको भुसालले बताए ।
बहसको सञ्चालन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा एफसीडीका सदस्य हिरेन्द्र शाहीले बहसका सञ्चालन गरेका थिए । नेकपाका युवा नेता तथा एफसीडीका सदस्य अशेष घिमिरेले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए ।
अन्तिममा प्रश्न–उत्तरको श्रृंङ्खला राखिएको अन्तरक्रियात्मक बहसमा पूर्वमन्त्रीदेखि, युवा नेता र कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।