विप्लवलाई छिट्टै नेकपामा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड
२२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आफु नेतृत्वको नेकपामा स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताएका छन् ।
शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव समूह’ शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रचण्डले विप्लव समूहका केही नेताहरूलाई पनि पार्टी प्रवेश गराएका छन् । उनले विप्लव अन्ततः आफुले कोरेकै गोरेटोमा आइपुगको उल्लेख गर्दै पार्टीमा स्वागत गर्न चाहेको अभिव्यक्ति दिएका हुन् ।
उनले सम्बोधनका क्रममा विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको बताए । उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’
कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी नेकपामा समायोजित भएको छ भने विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ ।