७ आश्विन २०७८, बिहीबार

वैज्ञानिक समाजवादबारे जनमत संग्रह गरिनु पर्छ : विप्लव (सम्बोधनको पूर्णपाठसहित)



२२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रह गरिनु पर्ने धारणा राखेका छन् ।

सरकार र विप्लव समूहकोे तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै विप्लवले ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको बताएका हुन् ।

सरकारसँग भएको तीनबुँदे सहमतिप्रति कार्यान्वयन गर्नेमा प्रतिबद्ध रहेको बताउदै उनले भने, ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं ।’

विप्लव सम्बोधनको पूर्णपाठ :

आदरणीय यहाँ सहभागी मित्रहरु,

यो नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन हो । जो हाम्रो अगाडि उपस्थित छ । यसलाई सफल पार्नका निम्ति यो तीन बुँदे सहमतिपत्र तयार पार्ने र सहमति कायम गर्न सफल वार्ता टोलीका मित्रहरु र कमरेडहरुलाई म हार्दिक धन्यवाद र बधाई भन्न चाहन्छु ।

सँगसँगै, यो पहल गर्ने, हाम्रो पार्टी, नेपाल सरकार र यसलाई सफलतातर्फ अग्रसर गराउनका निम्ति भूमिका निर्वाह गर्ने कानूनविद्, मानवअधिकारवादी, पत्रकार, वुद्धिजीवि र सुरक्षा निकायका मित्रहरु, विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने कम्युनिष्ट पार्टीका हाम्रा मित्रहरु/कमरेडहरु, विभिन्न तरिकाले हाम्रो नजिक रहेर सहयोग गर्ने मित्रहरु सबैलाई म यो अवसरमा सम्मान गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु ।

किनकी, यो सहमति नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै होइन र केही नेताहरुको मात्र होइन । यो सहमतिमा हामीभित्र लुकेको महान् आकांक्षा छ । नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना यो भित्र छ । यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा, नेपाली युवाहरुभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा गर्न हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्‍यौं । हामी खुशी छौं र हामी धन्यवाद दिन चाहन्छौं ।

आदरणीय मित्रहरु !

आज फेरि अर्को सन्दर्भ पनि छ । अघि उद्घोषक कमरेड राजन भट्टराईले पनि स्मरण गर्नुभयो । एउटा अँध्यारो समयमा, अँध्यारो परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा पाँच जना अग्रजहरुले रगत दिएका थिए । उनीहरुले सहर्ष आफ्नो जीवनलाई नेपाली जनता र नेपाल देशलाई समर्पण गरेका थिए ।

त्यो दिनसँग संयोग जोडिएको छ । त्यसकारण, आजको दिनमा जो सहिदहरुले निश्चल सपना देख्दै एउटा उत्कृष्ट आकांक्षा राख्दै नयाँ भविष्यका निम्ति नेपाली जनताको सुखद् भविष्यका निम्ति आफ्नो जीवन दिनुभएको थियो । जसलाई हामीले सहिद सप्ताह भनेर मनाउने गरेका छौं । जनयुद्धमा बलिदान गर्ने दिलबहादुर रम्तेल फागुन १४ बाट झापाको जंगलमा झुण्डिन तयार र गोली खान तयार पाँच अग्रजहरुको सहित जोडेर नेपाली सहिदहरु, नेपाली परिवर्तनकारी सहिदहरुको स्मरणमा सहिद सप्ताह मनाउने गर्छौ । संयोग भन्नुपर्छ, आज त्यही दिन परेको छ ।

आज विहानै अवसर पनि जुट्यो र हामी एउटा गाउँमा बस्दै गर्दा सहिदकी आमाले टीका लगाइदिनुभयो र एउटा भन्नुभयो– आजसम्म धेरैका इच्छा पूरा भए । तर, सहिदको चाहना पूरा भइसकेको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दुख गरी खाने नेपालीको चाहना पूरा भएको छैन । तपाईंहरु त्यहाँ हस्ताक्षर गर्न जाँदा यो सम्झेर गर्नुहोला ।

र, हामीलाई के अनुभूति भएको छ कमरेडहरु र मित्रहरु,

उहाँको कुरा सुन्दा हामीभित्र एउटा भावना उम्लने गर्छ । जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी बन्यौं । हाम्रा अग्रजहरु सहभागी बन्नुभयो । दुख नपाउने कम्युनिष्ट नेता छैनन् । मृत्युको नजिक नपुगेर फर्किएको नेता पनि छैनन् । सबैभन्दा कठिन समय, सबैभन्दा कठिन परिस्थिति नझेलेको हामीसँग कोही पनि नेता छैनन् । हामी यो परिवेशमा छौं ।

त्यसैले यो अवसरमा सबै आदरणीय सहिदहरुलाई सम्मान गरौँ । सहिद परिवारहरुलाई विश्वस दिलाऔ कि हामी जे सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं । हाम्रो जीवन यहाँ बलिदान गर्छौ, तर सहिदका सपना मर्न दिदैनौं । हाम्रो प्रतिबद्धता छ मित्रहरु । त्यो लिएर म यहाँ उभिएको छु । बेपत्ता योद्धा, घाइतेहरु र नेपालको परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपाङ्ग बनेर बसेका हाम्रा योद्धाहरु सबैलाई सम्झनुपर्छ र सम्मान गर्नुपर्छ । हामीले त्यो चाहना पूरा गर्ने प्रतिवद्धता गर्नुपर्छ ।

अहिले पनि हाम्रा डेढ सय भन्दा बढी कमरेडहरु जेलमा हुनुहुन्छ । छुटेर पनि आउनुभएको छ । कमरेड कञ्चन (धर्मेन्द्र बास्तोला)  संयोगले यहाँ आइपुग्नु भएको छ । उहाँलाई यहीँबाट स्वागत गर्न चाहन्छु । सायद, हाम्रा सबै कमरेडहरु छुट्नु हुनेछ र एउटा मुक्त आकाशमा फेरि मिलन हुनेछौं । हाम्रो विश्वास छ– यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।

मित्रहरु !

समाजमा चारथरि मान्छेहरु देखिन्छन् । एकथरी शोसक छन् र उत्पीडक छन् । एकथरि श्रमिक छन्, उत्पीडित छन् । तर, उनीहरु बोल्न सक्दैनन् । तेस्रोथरि मान्छेहरु अलिअलि गुनगुन त गर्छन् । गुनासो त राख्छन्, तर उठ्न सक्दैनन् । जाग्न सक्दैनन् । तर, हामी कम्युनिष्ट जतिबेला अन्याय हुन्छ, जतिबेला आफ्नो मान्यताहरुमाथि हमला भएको महसुस हुन्छ, हाम्रो आकांक्षाहरुमाथि हमला हुँदा, हाम्रो देशमाथि हमला हुँदा, देशमाथि कसैले अलिकति गिद्धे दृष्टि लगाउँदा हामी विद्रोह गर्छौं । हामी विद्रोह गर्ने मान्छेहरु हौं, र विद्रोह गर्दै आएका छौं ।

तर, कम्युनिष्टहरु विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ, परिस्थिति बदलिएर राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिष्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धा मात्रै होइनन्, शान्तिका दूत पनि यो संसारमा कोही छन् भने कम्युनिष्ट नै छन् ।

सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालीन ढंगले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, आकांक्षा छ भने त्यो कम्युनिष्ट आन्दोलनसँग छ । त्यो आकांक्षासहित हामीले संघर्ष गरेका छौं । र परिवेश बदलिए पछि हामीले भनेका छौं– तीन बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ । यसलाई पालना गर्छौं । यसलाई दृढतापूर्वक भन्छौं । यहाँ कसैले पनि कोही माथि पनि आशंका या विभिन्न ढंगले उत्तेजना र अर्को ढंगले कूतर्क गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौं, यसलाई पालना गर्छौं ।

हामीलाई के लागेको छ भने नेपाली समाज रुपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको छ । लामो प्रक्रियामा यहाँसम्म आउँदा हामीले देखेका छौं– सामाजिक रुपान्तरण, राज्यको रुपान्तरण र जीवनको रुपान्तरण पुगेको छैन ।

हामी कुराकानी गर्ने गर्थ्यौं – कर्णालीतिर एउटा गीत गाउने गरिन्छ । ‘यो कस्तो प्रेम भयो, जुन र घाम जस्तो ।’ कहिल्यै भेट नहुने जस्तो । जुन र घामको भेट हुँदैन भन्ने देउडामा गाइने गर्छ । त्यस्तै त्यस्तै हुन थालेको मान्छेहरु अनुमान गर्थे । तर, जुन र घामको पनि भेट हुन्छ ।

अगाडि पनि हाम्रो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्रीज्यूसँग कुरा भएको थियो । मैले राखेको थिएँ– तपाईंहरुले नेतृत्व गर्नुहोस् । हामी कसैलाई पीडा दिएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहन्छौं । त्यो बनाउने नेतृत्व गरौं ।

छलफल चल्ने गरेको थियो । त्यहाँ नयाँ परिवेशबाट हामीले भन्यौं– नेपाली समाजको रुपान्तरण हुँदै आएको छ । सात सालदेखि आजसम्म खण्डखण्डमा नेपाली समाजको रुपान्तरण हुँदै आएको छ । तर, त्यो पूर्ण भएको छैन ।

आज पनि नेपाली मजदुरहरुको स्थान कमजोर छ । किसानहरुको स्थिति बेहाल छ । आज पनि दलित, महिला, जनजाति, उत्पीडित, मधेसी सन्तुष्ट छैनन् । हामी त्यो देख्छौं । त्यो परिवेशमा हाम्रो भनाइ के छ भने जनताको प्रतिनिधि अथवा श्रमजीविको प्रतिनिधि हुनुको हिसाबले जहाँ–जहाँ हाम्रो असहमति रह्यो, त्यहाँ दृढतापूर्वक राख्यौं ।

संविधान बन्दाको प्रक्रियाको कुरा भन्नुहोस् या नेपालमा व्याख्या गरिएको संसदीय व्यवस्था या पूँजीवादी बहुदलीय व्यवस्थाको व्याख्या भयो । यसमा हामी सहमत भएनौं । आजको सरकारसँगको कुरा होइन, यो । होल नेपालको राजीतिक रुपान्तरणको प्रक्रियामा जेजति छलफल र बहसहरुमा सहमत हुन सकेनौं भएनौं र हामीले आफ्नो तर्फबाट विद्रोह गर्‍यौं ।

हामी अगाडि बढेकै हो । हाम्रो अहिले पनि भनाइ छ– नेपालमा कसैले पनि सुरक्षित महसुस गर्ने स्थिति छैन । सबै नेताहरुलाई, सबै पार्टीहरुलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफैं हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभूति भइरहेको छैन । अहिलेकै भन्नुहोस् या जहिल्यैको पनि । हरेक घटनाक्रममा ठूलो तरंग नेपाली जनताको बीचमा छ । अहिले पनि छ । सायद, तपाईंहरु सबैले बुझिसक्नुभएको छ ।

हामी त झुपडीमा बसेर आयौं । झुपडीमा पनि छ, शहरमा पनि छ, गाउँमा पनि छ । मेरो विचारमा अन्तर्राष्ट्रमा पनि छ । नेपाली युवा जहाँजहाँ बेचिएको छ । जहाँजहाँ फालिएको छ । सडकमा पुगेको छ, मजदुरको रुपमा परिणत भएको छ । त्यहाँ पनि नेपालीको अनुभूति छ ।

एकचोटी देश फर्किएपछि फेरि फर्कनु नपरोस् भन्ने चाहना हामी त्यहाँ भेट्छौं । यसको अर्थ अहिले हामी जे प्रयोग गर्दै आएका छौं, यो प्रयोग ठीकै होला । तर, नयाँ प्रयोग नेपाली राजनीतिक इतिहासमा आवश्यक बन्न गएको छ ।

हामीले भनेका छौं– जनमत । छलफल हुने पनि गरेको छ, जनमत । सार्वभौमिक सत्ता सम्पन्न नेपाली जनता । जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चाहन्छन् जनताले ? के यो दलाल पूँजीपतिहरुको चक्रमा सधैं घुम्नुपर्ने नियति हो  ? के नेपाली जनताले स्वतन्त्रपूर्वक ‘स्टेप’ चाल्न नपाउने ? नेपाली राज्यले, सरकारले चाल्न खोज्दा पनि नपाउने परिस्थिति त बन्यो नि त ! यो छर्लङ्गै देखेका छौं नि ।

जनताले त सोच्न पाउने ठाउँ नै छैन । कसैले नेपालको बारेमा आफ्नो ठानेर निर्णय गर्छु भन्दा नपाउने स्थिति छ । यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटी अधिकार प्रयोग गर्न दिनुपर्छ । अहिले पनि हाम्रो दृष्टिकोण छ । नेपाली जनताले अधिकार प्रयोग गर्न पाउनुपर्छ । नेता दल सबैलाई हामीले चुन्यौं । आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको बारेमा जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं– हामी तयार छौं ।

युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ । कम्युनिष्ट विजयी भएपछि संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । किनकी, उत्पीडित र उत्पीडकहरुको अवस्था अन्त्य हुनेबेला युद्धको कुनैपनि अवस्था रहनेछैन ।

त्यसको लागि हाम्रो विश्वास छ– एकचोटी नेपाली जनतामा जाने आँट गर्नुपर्छ । यसो भनेर उत्ताउलो तरिकाले जाऔं, यसो होइन । एकचोटी गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । घुम्दैघुम्दै रुम्जाटार पुर्‍याउने र रुम्जाटार पुर्‍याएर घोडामा चढ्नेखाले परिस्थिति नेपाली राजनीतिमा देखिन खोज्यो । यसलाई बदल्न हामी खुला हुनुपर्छ ।

हाम्रो नेपाल कम्युनिष्ट पार्टी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छ । तर, यो पनि भन्छौं– कसैले हामीलाई हस्तक्षेप गर्‍यो भने कुनै पनि विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन । यो प्रतिबद्धता छ ।

त्यसैले कमरेडहरु सबैलाई एकचोटी फेरि विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– जुन अवसर आज हामीलाई प्राप्त छ । यसलाई सार्थक पारौं, नेपाली जनताको हितमा, नेपाल राष्ट्रको हितमा । उहाँहरुको स्वर्णिम भविष्यका लागि सफल पारौं ।

अवश्य पनि हामी सफल हुनेछौं । हाम्रो पार्टीका तर्फबाट हामी पालना गर्ने कुरा नेपाल सरकारलाई, वार्ता टोलीलाई, अग्रजहरुलाई, मित्रहरुलाई, सबै सबैलाई आश्वस्त पार्दै आफ्नो कुरा टुंग्याउन चाहन्छु । धन्यवाद !


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको