ज्योति लाइफ इन्स्योरेन्सको आजदेखि आइपीओ खुल्ला, कति दिने आवेदन ?
फागुन २१, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला गरेको छ ।
कम्पनीले सुरुमा फागुन २३ गते आइतबारबाट आईपीओ निष्कासको मिति तोके पनि आइतबारबाट निष्कासन गर्दा मेरो सेयरमा पर्ने चापले नियमित सेयर कारोबारको सेटलमेन्टमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै मिति परिवर्तन गरेर आजबाट आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारण लागि बिक्री गर्न लगेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले २०७७ माघ ९ गत जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिल छ । इच्छुक आवेदकले सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।