३ आश्विन २०८०, बुधबार

लिदी पहिरोमा पुरिएका भाडाकुँडा भेटिए, पैसा भेटिए, तर मान्छे भेटिएनन्




११ भाद्र, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको खोजी अब नगरिने भएको छ ।

आज पहिरो गएको १४ दिन पुग्दासम्म निरन्तर खोजी गर्दा पनि लाश नभेटिए पछि जिल्ला प्रहरि कार्यालय सिन्धुपाल्चोक बेपत्ताको खोजि नगर्ने निष्कर्षमा पुगेको हो ।

साउन ३० गते शुक्रबार बिहान ६ बजे गएको भिषण पहिरोमा पुरिएर ३९ जना बेपत्ता भएका थिए । बेपत्ता मध्ये १४ दिनसम्मको उत्खननले ३३ जनाको शव भेटिएपनि ६ जनाको शव भेटिएन ।
बेपत्ता हुनेमा ४८ वर्षीया सोमरानी दोङ, २४ वर्षीया साइली दोङ, ८ वर्षीया प्रिया दोङ, २५ वर्षीया प्रकाश दोङ, २ वर्षीय बालक आयुष दोङ र वडा नम्बर ३ का १७ वर्षीय सुवास दोङ रहेका छन् ।

बिहीबार पहिरो गएको १४ दिनसम्म नेपाल प्रहरी, नेपाली सेना र स्थानीय मिलेर कोदालो, साबेल र स्काभेटर समेत प्रयोग गरेर खोज्दा पनि शव भेटाउन नसकिएको जलबीरेका इन्सपेक्टर हरि भट्टराइले बताए । इन्सपेक्टर भट्टराइले भने, ‘प्रहरी, सशस्त्र र नेपाली सेना गरी ८० जना सुरक्षाकर्मीहरू निरन्तर उत्खननमा खटिँदा पनि शव भटिएनन् । त्यसपछि बुधबार स्काभेटर प्रयोग गरेर पुरै पहिरो खोतलेर पनि खोजेका हौं । तर पनि भेटाउन सकिएन । दुई हप्तासम्म खोज्दा पनि नभेटिएपछि आजबाट खोज्ने काम लगभग समाप्त भयो ।’

जुगल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रताप लामाले परिवारले पनि सहमति जनाएपछि खोजी रोकिएको बताए । लामाका अनुसार भाडाकुँडा, पैसा भेटिए, अन्य सामानहरू पनि भटिए तर बेपत्ताहरु भेट्टाउन सकिएन ।

बेपत्ताहरु पहिरोसँगै आएको खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ । वडाअध्यक्ष लामाले भने, ‘दुई वटा स्काभेटरले पहिरो खोतल्दा समेत नभेटिएपछि परिवारले नै ‘अब भयो भटिएन’ भनेपछि खोजी कार्य रोक्यौं ।’

पहिरो पीडित र जोखिममा रहेका परिवारलाई अस्थाई स्थाई स्थान्तरण गरिएको छ । स्थाई स्थान्तरण गर्नका लागी पहल भइरहेको वडाअध्यक्ष लामाले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको