२१ मंसिर २०७९, बुधबार

उस्तै नियत, उस्तै नियती



थाहै छ सानू, क्षमतावानहरु पछि पारिन्छन् ।
लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन् ।
यी सबै सहेर, नदीजस्तै बगेर
पुग्यौँ भने गन्तव्य, दिउँला मन्तव्य
यसपालि भो हामी मौन बसौँ हो
यसपालि भो हामी यहाँ नबसौँ हो ।

दौडदैँथ्यो गाउँसमाज जगाउन, देखाइयो तारेभिर,
लाखौँ जनता साथमा थिए, एक घुट्को पानी पाएनन् विचरा
दरबारका नयाँ सामन्त मुसुमुसु हास्दै, जुँगामा ताउ लाउँदै
दिँदै थिए मन्तव्य, एउटा अशल अगुवा गुमायौँ, समवेदना
रहस्यमै अझ कति नेता खोलामा डुबाइन्छन्, जंगलमा झुण्ड्याइन्छन्
लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन्

कृतिम हुन्छ चुनाव सानू, कीर्ते हुन्छन् अधिवेशन
को हार्छ, को जित्छ, पहिले हुन्छ सर्कुलेसन
धम्कीको व्यापार हुन्छ, रगतकै खोला पनि बग्नसक्छ, सुक्नसक्छ
सिंहासनमा नया पुस्ता नक्कली सम्बोधनमा सक्कली मुस्कान छर्छ
थाहा छ उसलाई पनि यो सत्तामा जसरी नि जित्नुपर्छ कित मैले हार्नुपर्छ
राष्ट्रवादको तुलब्यानरमा अरु कति बुर्जुवाहरु नारिन्छन्
लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन्

जनताको मुक्ति भन्छन्, काठमाडौमा ३ आना घडेरी खोज्छन्
नातागोतालाई नियुक्ति, उनकै मान्छे ठेक्कापट्टा पाउँछन्
बिर्से यिनले मकैको खेती, भुले सायद चुनबाङका एजेण्डा
यी बोक्छन् नयाँ मुद्दा, तर फेर्छन्, पार्टी अनि आस्था बेच्दै बदलिदिन्छन् त्यो झण्डा
हामी सोझासाझा जनता पाउँछौँ सधैँ राज्यको दमन र डण्डा
जनताका नियतीमा अझै स्वार्थको एसिड छरिन्छन्
लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको