सरकार र विप्लव समूहबिच तीन बुँदे सहमति : ओली र विप्लव भोली एकै मञ्चमा
२० फागुन, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीबाट छुट्टीएर भूमिगत राजनीतिमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र सरकारबिच भएको वार्ता तीन बुँदे सहमतिमा सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएपछि सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
वार्ताका क्रममा सरकारले विप्लव समूहका नेता–कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने र विप्लव समूहले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा अगाडि बढाउने सहमति भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।
शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
विज्ञप्ति हेर्नुहोस् :
