२० श्रावण २०७८, बुधबार

प्रचण्ड-नेपाल समूहको कारबाहीमा परे ओली पक्षका यी ७ नेता



२० फागुन, काठमाडौं । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओली समूहका ७ नेतालाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकले ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो ।

पार्टी गतिविधिविपरीत काम गरेको भन्दै ओली पक्षीय नेताहरू सुवास नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।

पार्टीको अन्तरिम विधान उल्लंघन गरेको निष्कर्ष निकाल्दै स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको छ ।

यसअघि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेको थियो भने विष्णु पौडेललाई महासचिवबाट हटाएको थियो ।

यसअघि ओली पक्षले दलका प्रमुख सचेतक देव गुरूङलाई पदबाट हटाउने निर्णय गरेको थियो । गत पुष ५ मा प्रधानमन्त्री केपी ओलीले अप्रत्यासित रूपमा संसद विघटन गरेपछि विभाजित नेकपाका दुबै पक्षले एक अर्कालाई कारबाही गर्ने निर्णय गरिनै रहेका छन् । यद्यपि, निर्वाचन आयोगले हालसम्म कुनै ठोस निर्णय नसुनाएकाले कानुनी रूपमा भने नेकपा फुटिसकेको छैन ।

सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै अब कुन पक्षले नेकपाको आधिकारिकतामा पाउला भन्ने ठुलो चासो र उत्सुताको विषय बनेको छ । निर्वाचन आयोगबाट नेकपाको निर्णय प्रक्रियाएमा भएको ढिलाईप्रति प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ध्यानाकर्षण समेत गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु