नेकपा संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतक हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय
१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।
बुधबार पेरिसडाडामा बसेको स्थायी कमिटी बैठकले दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई समेत हटाउने निर्णय गरेको छ ।
आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।
आजकै बैठकले पार्टी गतिविधिविपरीत काम गरेको भन्दै सुवास नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।
स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतक परिवर्तन गरेपनि रिक्त जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गरिसकेको छैन ।