विश्वमै सबैभन्दा महङ्गो गुच्ची च्याउ कर्णालीमा पाइन्छ
११ भाद्र, काठमाडौं । हामी प्राय सबैलाई च्याउको तरकारी असाध्यै मनपर्छ । सायद च्याउको स्वाद मासुसँग मिल्दोजुल्दो भएर पनि होला च्याउ अधिकाङ्शको रोजाईंमा पर्छ ।
अहिले काठमाडौं उपत्यकामा च्याउ प्रति पाउ अर्थात् २०० ग्रामलाई ५० देखि ८० रूपैयाँ पर्छ । यस हिसाबले हेर्दा अहिले च्याउ सरदर प्रतिकिलो ४०० रूपैयाँमा बिक्रि भइरहेको छ ।
तपाईंहरूलाई यो च्याउको मुल्य पढ्दा अच्चम्म लाग्न सक्छ । विश्वबजारमा गुच्ची च्याउको प्रतिकेजी ३०,००० देखि ४०,००० हजार मुल्य पर्छ । विश्वविख्यात अनलाईन किनमेल प्लेटफर्म अलिबाबाले पनि यो च्याउको मूल्य प्रतिकिलो १५० देखि ३२० डलर उल्लेख गरेको छ । च्याउको यो मुल्य विश्वबजारमै सबैभन्दा महङ्गो मानिएको छ ।
मुल्य सुन्दा अच्चम्म लागेपनि यति महङ्गो च्याउ नेपालमै पाईन्छ, त्यो पनि विशेषगरी प्राकृतिकरूपमै कर्णाली प्रदेशका बिभिन्न हीमाली भूभागहरूमा पाइन्छ भन्ने थाहा पाउदा तपाईहरूलाई पक्कै खुसी लाग्यो होला । जडिबुटीको खानी कर्णाली प्रदेशमा यस्ता धेरै दुर्लभ प्राकृतिक र कृतिम वस्तुहरूको अस्तित्व रहिआएको छ ।
नेपाल बाहेक उत्तरी गोलाद्र्धका केहि क्षेत्रहरू, भारतको हिमाञ्चल प्रदेश, जम्मु कश्मिर, भुटान र तिब्बती हामाली क्षेत्रमा पनि यो च्याउ पाइन्छ । नेपालीमा गुच्ची नामले बुझिने यस च्याउलाई अङ्ग्रेजीमा कोरल मशरूम भनिन्छ । र यो च्याउको वैज्ञानिक नाम भने मोर्सेला एस्क्युलेन्टा हो ।
वर्षा याममा प्राकृतिक रूपमै उम्रिने यो च्याउ उच्च हिमाली भेगमा पाइने भएकोले यसको संकलन गर्न निकै कठिन हुन्छ । निकै महङ्गो र सीमित क्षेत्रमा मात्रै पाइने भएकोले नेपालमा यो च्याउ आम जिवनमा तरकारीका रूपमा प्रयोग हुने अवस्था छैन । तर युरोप, अमेरिका, फ्रान्स, इटली र स्विट्जरल्याण्डमा गुच्चीको माग उच्च छ ।

यो च्याउमा अधिक मात्रामा भिटामिन बि, सी, डी, के र अन्य कयौं प्रकारका पौष्टिक तत्वहरू पाइन्छन् । यसको सेवन मुटु रोगका लागि पनि निकै उपयोगी मानिन्छ ।
नेपालमा च्याउको व्यापार र संरक्षण विषयमा अनुसन्धानकर्ताहरू जयकान्त राउत, जीतेन्द्र उपाध्याय, विजय रााघवन, मिनु अधिकारी, सन्तोषी भुसाल, प्रगुनसुन्दर सैंजु, चन्द्रमोहन गुर्माछान, अञ्जना गिरी र लोकरञ्जन भट्टले संयुक्त रूपमा गरेको शोधपत्रमा यो च्याउका सन्दर्भमा स्पष्ट उल्लेख गरिएको छ ।
साइन्स पब्लिसिङ ग्रुप जर्नलमा प्रकाशित यो शोधपत्रका अनुसार नेपालमा यो च्याउ हिमाली क्षेत्रमै गएर संकलन गर्नेहरूले प्रतिकिलो ५ हजार रूपैयाँमा बिक्रि गर्ने गर्छन् । थोक बिक्रेताले यो च्याउ प्रतिकिलो १६ हजारका दरले बिक्रि गर्छन् । राष्ट्रिय बजार यो च्याउ प्रतिकिलो २० हजार र अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो ३० देखि ४० हजार रूपैयाँमा निकासी हुने गरेको शोधपत्रमा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेश सरकारले गुच्ची च्याउलाई खेतीका रूपमा व्यावसायीकरण गर्न युवा लक्षित कृर्षि कार्यक्रम ल्याउन जरूरी देखिएको छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सकेमा धेरै युवाहरू स्वरोजगार बनेर आफ्नै माटोमा उम्रिएको च्याउबाटै मनग्य आम्दानि गर्न सक्नेछन् ।