१ बैशाख २०७८, बुधबार

प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेसले ल्याउँदैछ अविश्वास प्रस्ताव



फागुन १८, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए २३ फागुनमा सुरु हुने प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी भइरहेको छ । अविस्वास प्रस्तावबारे कांग्रेस, जसपा र प्रचण्ड–नेपाल पक्षबीच छलफल भइरहेको भइरहेको छ ।

प्रचण्ड–नेपाल पक्षका एक वरिष्ठ नेताका अनुसार अविश्वासको प्रस्ताव भने नेपाली कांग्रेसको तर्फबाट पेस हुँदैछ। जसका लागि कांग्रेस र प्रचण्ड–नेपाल पक्षबीच छलफल तीव्र भएको छ।

सोही कारण नेकपाले पुस ५ गते संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव अघि नबढाउने सहमति भएको छ।

‘यसअघिको अविश्वासको प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव पेस गर्ने तयारी छ,’ प्रचण्ड निकट एक सांसदले भने, ‘त्यो प्रस्ताव संसदमा रहेका दलहरुको सहमतिका आधारमा दर्ता हुन्छ।’

नेपाली कांग्रेससँग नमिली अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न सम्भव नभएको ठहर गर्दै प्रचण्ड–नेपाल पक्षले कांग्रेससँग वार्ता तीव्र पारेको एक नेताले बताए ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाले संसद् बैठक बस्नुअघि नै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट औपचारिक रुपमा हटाउने तयारी थालेको छ। त्यसको तयारीको लागि फागुन १९ गते केन्द्रीय समितिको बैठक डाकिएको छ।

केन्द्रीय समितिको बैठकअघि स्थायी समितिको बैठक बस्नेछ। अध्यक्षद्वय प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहित सोमबार बसेकोे सचिवालय बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।

‘प्रधानमन्त्री ओलीले आफैँ राजीनामा नदिए अब संसद् बैठक बस्नुअघि नै बहुमत सदस्यले उहाँलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्छ,’ प्रचण्ड–नेपाल पक्षका एक स्थायी समिति सदस्यले भने ।

ती नेताका अनुसार सोमबारको सचिवालय बैठकले सांसदहरुसँग पनि यसबारेमा छलफल गर्ने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संवैधानिक अड्चन ल्याउन खोजेकाले अब उनलाई बहुमतबाटै हटाउनुपर्ने निष्कर्षमा पुगेको अर्का नेताले बताए।

बहुमत सांसदहरु आफूसँग रहेको दाबी गरिरहेका प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन बदर भएपछि ओलीविरुद्ध कुनै कदम चालेको छैन।

ओलीले भने आफूलाई संसदीय दलको बहुमतबाट हटाउन चुनौती दिइरहेका छन्। पछिल्लो समय उनले पोखरामा पनि यही चुनौती दोहोर्याएका थिए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु