३१ जेष्ठ २०७८, सोमबार

कर्णाली प्रदेश राजधानी सुर्खेतमा पूर्वाधार विकासले तिब्रता पाएको छ : मन्त्री ज्वाला



१७ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगर शहरमा बिकास निर्माणका कामलाई तिब्रता दिइएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा पूर्वाधार विकासमा भएका गतिविधीबारे जानकारी गराउदै मन्त्री ज्वालाले राजधानीको समग्र बिकासको लागि ‘विरेन्द्रनगर एकिकृत शहरी बिकास परियोजना’ अन्तर्गत जम्मा एक अर्ब एक करोड बजेट विनियोजन गरिएको उल्लेख गरेका छन् ।

मन्त्री ज्वालाले फेसबुकमा लेखेका छन् :

गत आवमा शुरु भएको सरकारी प्लानिङ क्षेत्रको सडक कालोपत्रे गर्ने काम यथासिघ्र सम्पन्न हुदैछ ।

प्लानिङ क्षेत्रको बाँकी सडक, मूल बजारको गणेशस्थानदेखि मंगलगढी चोकसम्म र मंगलगढीदेखि लाठिकोइली काक्रेबिहारसम्म सडक भौतिक पूर्वाधार मन्त्रालयबाट काम अघि बढाइदैछ । त्यसैगरी आँखा अस्पतालदेखि नेताचोक, हटिया चोकदेखि भ्यालिभ्यु होटेल र मंगलगढीदेखि क्याम्पस रोडसम्म प्रदेश सरकार र नगरपालिकाको समपुरकबाट काम भइरहेको छ । सडक स्तरोन्नति र कालोपत्रेका लागि करिब ५० करोडको ठेक्का प्रक्रिया अघि बढाइएको छ । अन्य महत्वपूर्ण सडकहरू दोश्रो चरणमा अघि बढाउने निर्णय भइसकेको छ । सुर्खेत उपत्यका चक्रपथ निर्माण पनि प्राथमिकतामा छ ।

विरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारविच पटक–पटक बैठक छलफल भई भेरी लिफ्ट परियोजनाको काम अब छिट्टै ठेक्का प्रक्रियामा जादैछ । उपत्यकाका अन्य महत्वपूर्ण खानेपानी योजनाहरू पनि सञ्चालन हुदैछ्न ।

राजधानीका प्रमुख सडक एवम् इत्राम प्लानिङ क्षेत्रमा सडक बत्ति ब्यबस्थापन र बिस्तार, सौन्दर्यिकरण तथा हरियाली प्रबद्र्धन योजना प्रदेश सरकार र नगरपालिकाद्वारा सझेदारीमा काम गर्न बजेट ब्यबस्था भइसकेको छ ।

सुर्खेत बिमानस्थलको धावनमार्ग बिस्तार र स्तरोन्नतिको काम पनि तिनै तहका सरकार र स्थानिय बासिन्दाहरूसङ्गको समन्वयमा नागरिक उड्डयन प्राधिकरणले अघि बढाउदैछ । एअरपोर्टको लागि प्रदेश सरकारले ५० करोड बिनियोजन गरेको छ ।

मन्त्री ज्वालाले अन्तमा प्रदेश राजधानी सुविधासम्पन्न बन्न लागेको बताउदै कर्णाली र विरेन्द्रनगरबासीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

फेसबुक स्टाटससँगै विकास निर्माणका विभिन्न तस्बिरहरू र प्रदेश राजधानी विरेन्द्रनगरको एकिकृत विकाससम्बन्धि समन्वय बैठकमा भएका विभिन्न निर्णहरूसमेत सार्वजनिक गरिएको छ ।

फेसबुक स्टाटस हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु