६ आश्विन २०८०, शनिबार

हुम्लामा गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित



कर्णबहादुर रोकाया

१६ फागुन, हुम्ला । आयुर्वेद शाखा हुम्लाले गाउँघर आयुर्वेद घुम्ती सेवाबाट सिमकोट गाउँपालकामा १५ सयलाई सेवा उपलब्ध गराएको छ । बालकालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई आयुर्वेद शाखाले गाउँघरमै स्वास्थ्य सेवा प्रवाह गरेको हो ।

सिमकोट गाउँपालिकाको वडा नम्बर १, २, ७ र ८ का सात ठाउँमा गाउँघरमा पुगेर प्रवाह गरिएको घरदैलो आयुर्वेद स्वास्थ्य सेवाबाट १५ सय जना लाभाविन्त भएको स्वास्य सेवा कार्यालय, आयुर्वेद शाखा हुम्लाका कविराज निरिक्षक कृष्णचन्द्र जोशीले जानकारी दिएका छन् ।

सिमकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा १५३ महिला र ११७ पुरुष गरेर २७० जना लाभान्वित भएका छन् । यसैगरी वडा नम्बर ७ को तीन ठाउँमा जम्मा ४५४ लाई यो सेवा प्रदान गरिएको छ । जसमा डाँडाफयामा १२१ महिला र ७७ पुरुष गरी जम्मा १८७, धारापोखरीमा ६७ महिला र ४६ पुरुष गरी जम्मा ११३ र चौगानफयामा ९७ महिला र ५७ पुरुष गरी जम्मा १५४ जनालाई उक्त सेवा प्रदान गरिएको हो ।

यसैगरी वडा नम्बर ८ को पनि तीन ठाउँमा यो सेवा प्रवाहबाट ७२८ जना लाभान्वित भएका छन् । जसमा साँतामा महिला ११९ र ९४ पुरुष, याँडामा महिला १९७ र पुरुष १४२ र खोल्सीमा महिला ७६ र पुरुष १०० जना यो सेवा पाएका छन् ।

आयुर्वेद शिबिरमा बाथका लागि मालिस गर्ने तेल, दम, रुघाखोकी, ग्याष्ट्रिक श्वेतप्रदर, उच्च रक्तचाप, आमातिसार, गानागोला, स्तनपायी आमाहरूका लागि उपयोगी हुने विभिन्न प्रकारका आयुर्वेदिक औषधीहरू निःशुल्क उपलब्ध गराइएको छ । यसबाट स्थानीयबासी विशेषतः जेष्ठ नागरिकहरू धेरै खुशी भएको स्याँडा गाउँका रुपवहादुर बुढाले जानकारी दिए ।

गाउँघर स्वास्थ्य सेवा कार्यक्रम फागुन महिनामा पटक–पटक गरेर एक हप्तासम्म सञ्चालन गरिएको हो । यसमा ४६ जना स्तनपायी आमाहरूलाई पनि सेवा प्रवाह गरिएको छ । विशेष गरेर गाउँघरमा हुने गरेको बाथ रोगीहरूलाई राम्रो भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको