भारतमा अड्किएको २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो
११ भाद्र, काठमाडौं । भारतको कलकत्ताबाट २५ सय टन युरिया मल वीरगञ्ज आइपुगेको छ । लकडाउनका कारण कलकत्तामा अड्किएको नेपाल साल्ट ट्रेडिङ कर्पोरशनको मल वीरगञ्ज आइपुगेको हो ।
गत वर्षको थप कोटा २१ हजार ५ सय टन चालु आर्थिक वर्षको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल ३ महिनादेखि कलकत्तामा अड्किएको थियो । नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशनका प्रवक्ता कुमार राजमण्डारीका अनुसार लकडाउन खुकुलो भएसँगै नेपाल भित्रिन सुरू भएको युरिया मल ३ हप्तामा कलकत्ताबाट नेपाल आइसक्ने छ ।
कृषि मन्त्रालयको समन्वयमा कुन–कुन जिल्लामा मल पठाउने भनेर तालिका बनिसकेकोले आज (बिहिबार) देखि किसानलाई वितरण गरिने प्रवक्ता राजभण्डारीले बताए । उनले भने, ‘पहिलो चरणमा मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा मल वितरण गरिनेछ ।’
६ सय टन विराटनगरमा आइपुगेको भने १३ सय टन मल वीरगञ्जबाट विराटनगरका लागि हिँडिसकेको छ ।
लकडाउनमा ३ महिना अड्किएको ५० हजार टन मलमध्ये ६ हजार टन काम नलाग्ने भएकाले ४४ टन मात्रै नेपाल ल्याइएको कर्पोरेशनले जनाएको छ ।