१५ मंसिर २०७८, बुधबार

नेकपा दुई समूहमा विभाजन भएपछि पहिलो पटक प्रधानमन्त्री ओली झापा जाँदै



प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा जाने भएका छन् ।

प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन–नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास कार्यक्रममा जान लागेका हुन् ।

औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ।

नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कको शिलान्यास गर्न ओली त्यहाँ जान लागेपछि उनको स्वागतका लागि ठाउँठाउँमा स्वागत गेट र कार्यक्रम स्थलमा विद्युत् सेवा र इन्टरनेट व्यवस्थापन गरिएको पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।

कार्यक्रमलाई भव्य बनाउन विभिन्न जातजातिका झाँकीसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने उनले बताए ।

एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुनेछ।

औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो। यो परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको अध्यक्ष थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको