दरबार हाई स्कूल निरीक्षण
फागुन १५, काठमाडाैं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन् ।
चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी भएका थिए ।
सो अवसरमा उनीहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य र खेलकूद सामग्री हस्तान्तरण गरे । भूकम्पले भत्किएको दरबार हाई स्कूल चीन सरकारको ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिए ।
नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले उद्घाटन समारोहका अवसरमा कात्तिक ५ गते नै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए । चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय, प्रयोगशालाको व्यवस्थासमेत भवनमा रहेको छ । भवनमा भानु र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालन भइरहेका छन् ।