४ आश्विन २०८०, बिहीबार

बसन्तलाई स्वागत गर्ने पर्व ‘चैतलो’



कर्णबहादुर रोकाया

१४ फागुन, हुम्ला । सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते मात्र मनाईने पर्व हो ‘चैतलो’ । यसलाई यहाँका सधवा महिलाहरूले पीत वस्त्रधारण गरेर गाउँको सामुहिक सभास्थल ‘चौपाडी वा भुओखाडो’मा सामुहिक गीतीनाचका रुपमा खेल्ने गरिन्छ । बसन्तलाई स्वागत गर्ने पर्वका रुपमा पनि यो पर्व मान्ने गरिन्छ ।

गाउँ–गाउँको टोल–टोलबाट पीत वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहनाहरू लगाई सामुहिक रुपमा खेल्ने गीती नाच नै ‘चैतलो’ हो । गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा स्थान विशेषः ‘चौपाडी, सभाथाडो, भुओखाडो’ आदि ठाउँमा जम्मा भएर जेष्ठताका आधारमा पङ्क्तीबद्ध भई ‘बाह्र भाई नौ दुर्गा भवानी’को प्रस्तुतीलगायत ऋतुहरूको बारेमा गुणगान गाउने गीती नाच खेल्ने गरिन्छ । यहाँ शुरुमा देवदेवी र पञ्चभूतत्वलाई खुशी पार्न मांगल, चुड्कीला, चाड्ची, आरती र प्रस्तती गाइन्छ भने त्यसपछि रामरमाइलोका लागि चुड्कीला र देउडा खेल्ने गरिन्छ ।

सिमकोटको तल्लो गाउँ खाद्दकको बीचमा रहेको ‘चौपाडी’मा यहाँको मस्टो देवताले ठूलो शिलामुनी शिला अर्थात् सहकालका लागि दीक्षादाना राखेर चैतलो खेल्ने चैतालुहरूलाई टीका लगाएपछि मात्र खेल आधिकारीक रुपमा शुरु भएको मानिने सिमकोट वडा नं ५ का राजेन्द्र रावतले बताए ।

विशेषतः सिमकोट गापाको वडा न १ र २ ठेहे गाउँ र सिमकोट वडा नं ५ र ६ खाद्दक, पाँबाडा र लादेवाडा गाउँका स्थानीयहरूले अनिवार्य रुपमा फागुन १२ गते मनाइने महिला पर्व हो ‘चैतलो’ । यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो पर्व मान्ने गरिन्छ । आफ्ना पतिको दीघार्युको कामना गर्दै नयाँ आउने ६ ऋतुहरूको शुरुवाति ऋतु बसन्तको आगमनलाई स्वागत गरेर वर्षभरी नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रुपमा ‘चैतलो’लाई मानिंदै आएको छ ।

यो गीती नाचपछि आफ्न्त र नजीकका मीत्रहरूलाई घरमा बोलाएर चिउला, च्याउँका, खिर, भात, सेल, मासुलगायत अन्य विभिन्न मिष्ठान परिकारहरू खुवाउने चलन रहेको छ ।

यो पर्वलाई फागुन १२ गते नै मनाइने भएकाले अरु पर्वभन्दा यसलाई विशेष पहिरन र आभुषण लगाएर सधवा महिला तथा कन्या केटीहरूले मात्र खेल्ने पाउने महिला पर्व हो । यो पर्वमा चैतलो खेल्ने जाने “चैतालई रानी”हरूले अनिवार्य रुपमा रेशमी कपडाको पीत वस्त्रको लामो लुगा ओड्नु पर्ने परम्परा नौलो र मौलिक रहेको सिमकोट गाउँपालिका वडा नम्बर ५ की लक्ष्मी रोकायाले बताइन् ।

चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खश (क्षेत्री) समुदायले मान्ने विशेष प्रकारको यो पर्वका बारेमा खोजी गर्नुपर्ने आवश्यकता देखिन्छ । यसलाई संस्कृति र प्रकृतिलाई अन्तरघुलन गर्ने गराउने एक सशक्त माध्यम मानिएको छ । हाम्रा यस्ता चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील बनाउने काम गरेका छन् । यसको प्रचारप्रसार गर्न गराउन सकेमा सांस्कृतिक पर्यटनका लागि पनि लाभदायक हुने विश्वास गर्न सकिन्छ । जय बसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको