१ बैशाख २०७८, बुधबार

नेकपा मिलाउन चिनियाँ राजदूतको सक्रियता, भेटिन् ओली निकटका नेता



प्रतिनिधिसभा पुनःस्थापना भएपछि पार्टी भित्रको समस्या समाधानका लागि चिनियाँ राजदूत हाउ यान्छीको सक्रियता बढेको छ । उपाध्यक्ष वामदेव गौतमले संक्रमणकालीन समयमा आफूलाई अध्यक्ष दिए समस्या समाधन गर्ने बताएकै दिन चिनियाँ राजदूत हाउ यान्छीले ओली निकटका नेताहरुसँग भेटघाट गरेकी छन् ।

पार्टी एकता अभियान चलाएका गौतमले बिहीबार बिहान खुमलटारमा पुगेर ओलीको सम्मानजनक विदा गर्ने र पार्टीबाटै प्रधानमन्त्री बनाउनुपर्ने बताएपछि राजदूत यान्छीले ओली निकट नेतासँग भेट गरेकी हुन् ।

बिहीबार उनले प्रधानमन्त्री ओलीसँग भेटघाटको समय मागेकी थिइन् तर ओली आफू निकटका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका कारण समय नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरुसँग भेटघाट गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

उनले मन्त्रालयमै पुगेर एकघण्टा कुराकानी गरेकी थिइन् । बादललाई भेट्नुअघि यान्छीले नेकपा स्थायी कमिटीका दुई सदस्यलाई भेटेकी थिइन् ।

चिनियाँहरुकै पहलमा गौतम पार्टी एकता पहलका लागि बाहिर बसेको आशंका गरिरहेका बेला बिहीबार यान्छी र गौतमको दौडधूपलाई सामान्य मान्न सकिन्न ।

गौतमले बिहीबार बिहान एकीकृत पार्टीको अध्यक्ष दाबी गरेका थिए । बिहीबार बिहान खुमलटार पुगेर पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका थिए ।

गौतमकै भाषामा यान्छीले पार्टी एकताका लागि नेताहरुले पहल गरेर पार्टी नेताहरु सम्मानजन ठाउँ लिएर बस्नुपर्ने र त्यसका लागि चिनियाँ कम्युनिष्ट पार्टीले के कस्तो सहयोग गर्नुपर्ने हो त्यो सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

संसद पुनःस्थापना भए पनि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए । पुस ५ गते संसद विघठन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन् ।

राजनीतिक रुपमा विभाजन भएको पार्टीलाई एकता गराउन यसअघि चिनियाँ टोली सक्रिय रहेको थियो । पार्टी विभाजन लगत्तै चिनियाँ टोली पुसमा नेपाल आएको थियो । तर सो टोलीले विभाजनको असर र कारणबारे छलफल गरी त्यसको विवरण चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु