ट्वाइलेटमा बच्चा जन्माएर माटोको थुप्रोमा गाड्दै गर्दा आमा पक्राउ
१३ फागुन, काठमाडौं । ट्वाइलेटमा बच्चा जन्माएर माटोको थुप्रोमा गाड्दै गर्दा सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ की चन्दनकुमारी साह पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार पेट दुखेपछि फागुन ११ गते उनी बुवा हरिनारायण साहसँग गढी मेडिकल हलमा गएकी थिइन् । पेट दुख्यो भनेर ट्वाइलेट गएकी साहले त्यहि बच्चा जन्माएर नजिकै फालिएको खरानी र माटोको थुप्रोमा शिशु गाड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
दिउँसो सवा २ बजेतिर गढी मेडिकलका अहेबले चन्दनकुमारी गर्भवती रहेको र ब्यथा लागेको पुष्टि गरेपछि उपचार सुरू हुने क्रममै थियो । यतिकैमा एक्कासी ट्वाइलेट गएकी चन्दनकुमारी आधा घण्टासम्म बाहिर नकिस्किएर ट्वाइलेटमै बच्चा जन्माएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी नायब निरीक्षक रमेश कार्कीका अनुसार प्रहरीले आमालाई पक्राउ गरेपनि नवजात शिशुलाई भने बचाउन सकेन । अत्यन्त गम्भिर अवस्थामा इनरुवा अस्पताल पुर्याइएका शिशुलाई चिकित्सकको सल्लाह बमोजिम विराटनगरस्थित टिचिङ अस्पताल लगियो । तर, त्यहाँ पुर्याएको केही समयमै शिशुको मृत्यु भयो ।
प्रहरी निरिक्षक कार्कीले चन्दनकुमारी अहिले पनि उपचारको क्रममै रहेकाले थप अनुसन्धान गर्न सम्भव नभएको बताएका छन् । सामान्य परिवारकी चन्दनकुमारी अविबाहित भएकाले नाजायज सम्बन्धबाट जन्मेको शिशुलाई हत्या गरेर गाड्न खोजेको हुनसक्ने प्रहरीको आशंका छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि घटनाका सन्दर्भमा बयान लिने प्रहरीले तयारी गरेको छ ।
प्रहरीका अनुसार घटना भएकै दिन अस्पतालमा सामान्य सोधीखोजी गर्दा बुवाछोरी रुन थालेपछि उपचारका क्रममा बाँकी कुरा बुझ्न सम्भव भएन ।
प्रहरी निरिक्षक कार्कीले खाल्डोमा पुर्दै गर्दाको शिशुको केहिबेरमै मृत्यु भएकाले ती युवतीमाथि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिने बताए । कर्तव्य ज्यानमुद्दामा कसुर हेरेर सर्वस्वसहित जन्मकैद सजाय हुने कानुनी व्यवस्था छ ।