२० श्रावण २०७८, बुधबार

समाचार सामग्रीमा १ अर्ब डलर खर्च गर्दै फेसबुक



१३ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आउने तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने बताएको छ।

फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ। फेसबुकले समाचार राखेबापत् पैसा तिर्नुपर्ने कानुन बनाउन लागेको अष्ट्रेलिया सरकारसँग सहमति गरेपछि फेसबुकले यस्तो निर्णय गरेको हो।

फेसबुकले यसअघि नै फाइनान्सियल टाइम्स, द गार्डियनलगायतका मिडिया हाउसका समाचार प्रयोग गरेबापत् पैसा तिर्दै आएको छ।

अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगललगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ।

पारित हुन लागेको विधेयकको उक्त प्रावधानको विरोधमा फेसबुकले समाचार सेयर गर्न नदिने गरी प्रतिबन्ध लगाएको थियो।

फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ। फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो।

फेसबुकजस्तै सर्च इन्जिन कम्पनी गुगलले पनि समाचार सामग्री प्रयोग गरेबापत् मिडिया हाउसलाई पैसा तिरिरहेको छ।

स्रोत : एजेन्सी


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु