नेपाली जनता, प्रजातन्त्र र संविधानको जीत : झलनाथ खनाल
१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका बरिस्ट नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एसियाली राजनैतिक पार्टीको सम्मेलन (आइक्याप) महिला विङ्गको बैठकमा कोभिड १९ ले महिलाको आर्थिक अवस्थामा पारेको प्रभावबारे आफ्ना धारणा राखेका छन् । आज (बुधबार) आयोजित बैठकमा नेपालको तर्फबाट खुशीको समाचार भएको कुरा सुनाउदै उनले संसद विघटनको असंबैधानिक कदम सर्वाेच्च अदालतले खारेज गरी एतिहासिक रुपले संसद पुनस्र्थापना गरिदिएको र यो प्रजातन्त्र, जनता र संविधानको जीत भएको कुरा बताए ।
वर्ग, जात, लिङ्ग र क्षेत्रिय विभेदको चौहोरो मारमा परेका नेपालका महिलाहरूको अवस्थालाई कोभिड महामारीले अझ नाजुक बनाएको नेता खनालले बताए । नेपालको रोजगारी र अर्थतन्त्र अनौपचारिक क्षेत्रमा रहेको र त्यसमा महिलाको संख्या पुरुष भन्दा बढी रहेको कुरा औल्याउदै कोभिड महामारी पछि ८७ प्रतिशत महिलाले आफ्नो काम गुमाएका कुरा उल्लेख खनालले बैठकमा राखे । सन् २०२० मा नेपालको आर्थिक वृद्धि ६ अंकले तल झरेको र असंबैधानिक ‘कु’ ले आर्थिक संकटलाइ गहिर्याउन झनै मद्दत गरेको कुरा बताए । खनालले भने, ‘आफ्नो तलव नै नपाउने महिलाहरूको संख्यामा ३३७ प्रतिशतले बृद्धी यसैको परिणाम हो । नेपालमा विदेश जाने महिलाहरू पुरुषका तुलनामा कम भएता पनि उनी कम तलव, सामाजिक असुरक्षा, यौन हिंसाको शिकार हुने गरेका र महामारीका कारण विना कमाइ घर फर्किनु परेको पिंडा महिलाले भोगेका छन् । जीविकोपार्जनका लागि काम, घरायसी काम र बच्चा हेर्ने समेत कार्य गर्दा १८ देखि २२ घण्टासम्म महिलाहरूले शारिरिक श्रम गर्नुपर्ने बाध्यता रहेको छ ।’
आइक्यापको उक्त भर्चुअल कार्यक्रममा युनएन वुमन र युनेस्क्याप विज्ञहरू मारिया होल्टवर्ग र काइ काइले आफ्नो प्रस्तुती गरेका थिए । कार्यक्रममा २२ देशका ३२ राजनीतिक पार्टीका बक्ताहरूले आफ्नो विचार प्रकट गरेका थिए । आइक्यापका अध्यक्ष जोसे डे भेनेसिया, महासचिव चो बुङ्ग जाए, महिला विङ्ग की अध्यक्ष सुजाता कोइराला, नालिनी ताभासिनाले उद्घाटन र समापनका महिला शशक्तिकरणका लागि आफ्नो विचार राखेका थिए । नेता खनालसङ्गै नेकपाकी नेतृ राम कुमारी झाक्री र कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले बैठकमा भाग लिएका थिए ।